स्याङ्जा : अर्जुनचौपारी गाउँपालिकाले गाउँमै आयुर्वेदिक औषधी उत्पादन सुरु गर्दै स्वदेशी ज्ञान, आत्मनिर्भरता र जनस्वास्थ्य सुदृढीकरणतर्फ ऐतिहासिक कदम चालेको छ।
पालिकाको आयुर्वेद शाखामार्फत दुईवटा मेसिनको प्रयोग गरी औषधी उत्पादन थालिएको हो। स्थानीय रूपमा उपलब्ध जडिबुटीहरू—जसमा हर्रो, बर्रो, अमला, बेसार, लसुन, टिमुर, काफल, चुत्रो, निम, असुरो, हडचुर, तितेपाति, धयरी आदि समावेश छन्—को संकलन र खरिद गरेर औषधी बनाइँदैछ।
शाखाले पहिलो चरणमा आमलकि चुर्ण, हरितकि चुर्ण, अश्वगन्धा चुर्ण, अर्जुन बीज चुर्ण जस्ता एकल औषधीहरू उत्पादन गरिसकेको छ। साथै त्रिफला चुर्ण, सितोपलादि चुर्ण, त्रिकटु चुर्ण जस्ता मिश्रित औषधीहरू पनि उत्पादन गरिएका छन्।
जेष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै स्नेहन, स्वेदन र पञ्चकर्म प्रक्रियाका लागि वातसामक तेल समेत पालिकामै उत्पादन गरिएको आयुर्वेद शाखाका प्रमुख थापाले जानकारी दिए।
गाउँकै स्रोत साधन प्रयोग गरेर औषधी उत्पादन थालिएको उल्लेख गर्दै पालिका अध्यक्ष प्रकाश तिवारीले आवश्यकता परेमा बाहिरी बजारबाट जडिबुटी खरिद गरेर पनि उत्पादनलाई निरन्तरता दिइने बताए।
औषधी वितरणलाई प्रभावकारी बनाउन पालिकाले प्रत्येक टोलमा पुगेर जनताको आवश्यकतानुसार वितरण गर्ने योजना बनाएको छ। साथै, हरेक हप्ता टोल र विद्यालयहरूमा योग, ध्यान तथा पोषणसम्बन्धी कार्यक्रमहरू सञ्चालन भइरहेको छ। स्तनपान गराउने आमालाई सतवारी चुर्णसहित दुग्ध बर्दक औषधी पनि निःशुल्क वितरण गरिँदै आएको छ।
गाउँमै औषधी उत्पादन सुरु हुनु गौरवको विषय भएको जनाउँदै प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले यसले स्थानीय जडिबुटीको मूल्यवृद्धि मात्र नभई स्वास्थ्य सेवा सहज बनाउने बताए।
यससँगै अर्जुनचौपारी गाउँपालिकाले आयुर्वेदलाई आफ्नो मौलिक पहिचान बनाउँदै आत्मनिर्भर गाउँको परिकल्पनालाई व्यवहारमा उतार्न थालेको छ।