काठमाडौँ । चौधरी ग्रुपले जेन-जी आन्दोलनको क्रममा सहिद भएका परिवारका सदस्यलाई रोजगारी दिने भएको छ ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जेन-जी आन्दोलनका प्रत्येक सहिद परिवारका एक जनालाई रोजगारी प्रदान गर्ने बताएका हुन् ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक चौधरीले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शहीद परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
उनले आन्दोलनका क्रममा चौधरी ग्रुपको निजी निवास, कार्यालय, शोरूम र कारखानामा भएको ठूलो क्षतिले समूहलाई गहिरो पीडा दिएको बताउँदै पनि पुनर्निर्माणतर्फ दृढ आत्मबलका साथ अघि बढ्ने बताएका छन्।
निर्वाण चौधरीका अनुसार, यो पीडादायी घडीमा चौधरी ग्रुपले शहीद परिवारहरूप्रति सम्मान प्रकट गर्दै प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने प्रतिबद्धता जनाएको छन् ।
उनले भने, “यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो। हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ र आशा, सहानुभूति तथा सम्मानसहित देशको उज्यालो भविष्य निर्माण गर्नेछौँ।”
उनका अनुसार चौधरी ग्रुपको टोली सम्पूर्ण शहीद परिवारहरूसँग सम्पर्कमा छ, तर सहज समन्वयका लागि कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्यालसँग मोबाइल नम्बर ९८५१२२४००० मा सम्पर्क गर्न समेत आग्रह गरिएको छ।
चौधरीले यो सहानुभूति र साथसाथै रोजगारको अवसर शहीद परिवारप्रति सच्चा सम्मानको प्रतीक भएको बताएका छन्।