भोजपुर । भोजपुरका किसानहरू पछिल्लो समय कम लागत, सजिलो हेरचाह र बजारमा उच्च मागका कारण व्यावसायिक मौरीपालनतर्फ आकर्षित हुन थालेका छन्।
रामप्रसादराई गाउँपालिका-६ वैकुण्ठे लगायत टेम्केमैयुङ, पौवादुङ्मा लगायतका क्षेत्रमा मौरीपालन आयआर्जनको मुख्य स्रोत बन्दै गएको छ। अनुकूल वातावरण र स्थानीय सरकारको सहयोगले मौरीपालन फस्टाउँदै गएको छ।
गाउँपालिकाले किसानलाई आधुनिक मौरीपालनसम्बन्धी तालिम दिँदै प्रविधिमैत्री उत्पादनतर्फ उन्मुख गराएको छ। तालिम लिएर ३५ वटा आधुनिक मौरीघार सञ्चालनमा ल्याएका किसान शरणकुमार बोहोरा जस्ता कृषकले व्यावसायिक मौरीपालनले आम्दानीमा ठुलो परिवर्तन ल्याएको बताउँछन्।
स्थानीय सरकारका अनुसार मौरीपालनलाई प्राथमिकतामा राख्दै आवश्यक प्रविधि र उपकरण उपलब्ध गराइएको छ। किसानहरू भन्छन्— बजार, प्याकेजिङ र ब्राण्डिङमा ध्यान दिइयो भने भोजपुरको मह विदेशसम्म पुर्याउन सकिने सम्भावना छ।