२०८३ साउन १० आइतबार

बिपी राजमार्ग पुनः क्षतिग्रस्त, काभ्रेपलाञ्चोकतर्फको सडक सम्पर्क पूर्णरूपमा विच्छेद

ई आर्थिक    मंगलबार, असोज २१ २०८२
3.5K
Shares
बिपी राजमार्ग पुनः क्षतिग्रस्त, काभ्रेपलाञ्चोकतर्फको सडक सम्पर्क पूर्णरूपमा विच्छेद

काभ्रेपलाञ्चोक ।  संघीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो र महत्त्वपूर्ण वैकल्पिक सडक मार्ग बिपी राजमार्गमा पुनः बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको छ। असोज १८ र १९ गते परेको लगातारको वर्षासँगै आएको बाढीले विशेष गरी काभ्रेपलाञ्चोकतर्फको सडकखण्ड पूर्णरूपमा क्षतविक्षत बनाएको छ।

गत वर्षको बाढीले भत्किएको राजमार्ग अस्थायी रूपमा मर्मत गरी सञ्चालनमा ल्याइएको भए पनि, यसपटकको बाढीले पुरानो डाइभर्सनसमेत बगाएको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार करिब चार किलोमिटर सडक पूर्ण रूपमा बगाएको छ भने अरू धेरै ठाउँ जोखिमपूर्ण अवस्थामा रहेका छन्।

इन्जिनियर बिन्दु अधिकारीका अनुसार, रोशी खोलाको बाढीले खासगरी भकुण्डेबेँसीदेखि नेपालथोकसम्मको सडकखण्डमा १७ भन्दा बढी स्थानमा क्षति पुर्‍याएको छ। चौकीडाँडा, माम्ती, चार सयबेँसी, बोक्सेकुना, घुमाउने लगायतका क्षेत्रहरूमा शून्यबाट पुनः निर्माण सुरु गर्नुपर्ने स्थिति आएको छ।

हाल चौकीडाँडाबाट मर्मत कार्य थालिएको र रोशी खोलालाई पूर्वतर्फ मोडेर अस्थायी ट्र्याक खोल्ने प्रयास भइरहेको कार्यालयले जनाएको छ। ट्र्याक खुलेपछि माम्तीसम्म यातायात सञ्चालन हुने अपेक्षा गरिएको छ।

राजमार्गको करिब ११० किलोमिटर भाग सञ्चालनमा भए पनि बाँकी ५० किलोमिटर सडक पुनर्निर्माणको चरणमा छ। गत वर्षको असोजमा आएको बाढीले ८ किलोमिटर सडक पूर्ण रूपमा बगाएको थियो भने काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाका विभिन्न खण्डमा २९ किलोमिटर सडकमा गम्भीर क्षति पुगेको थियो।

पुनःनिर्माणको लागि हाल तीन प्याकेजमा ठेक्का प्रक्रिया अघि बढाइएको छ। काभ्रेपलाञ्चोकमा दुई र सिन्धुलीतर्फ एक गरी तीन खण्डमा दुई वर्षभित्र पुनर्निर्माण सक्ने लक्ष्य राखिएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पिप्ले देखि बर्खे खोला सम्मको ३.२ किलोमिटर सडकको जिम्मा लिएको छ।

स्थायी पुनर्निर्माण अन्तर्गत इन्टरमिडियट लेनको सडकलाई दुई लेनको बनाउन, सात मिटर चौडाइमा कालोपत्र गर्ने, र जोखिमयुक्त क्षेत्रमा आरसीसी पर्खाल बनाउने योजना रहेको छ।

तर, बिपी राजमार्गका समस्याहरू यतिमा मात्र सीमित छैनन्। क्षमताभन्दा बढी भार बोकेर सञ्चालन भइरहेका टिप्परहरूले समेत सडक संरचनालाई थप क्षति पुर्‍याइरहेका छन्। दैनिक तीन हजारभन्दा बढी सवारी साधन सञ्चालन हुने यस राजमार्गमा अहिले पनि सयौं टिप्पर २५ टनभन्दा बढी लोड बोकेर निर्वाध रूपमा गुडिरहेका छन्, जसले राजमार्गमा दीर्घकालीन जोखिम थपेको ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध हुँदा पूर्वी क्षेत्रबाट राजधानी आउने साना सवारीहरूका लागि बिपी राजमार्ग मुख्य विकल्प बनेको छ। यही कारणले यस सडकको मर्मत तथा पुनर्निर्माण कार्यलाई उच्च प्राथमिकता दिनु आवश्यक देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij