ई-आर्थिक, काठमाडौं । जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गरेका छन्।
मंगलबार टङ्गालस्थित अख्तियारको केन्द्रीय कार्यालय पुगेर अलायन्सका प्रतिनिधिहरूले आयोगमा औपचारिक पत्र बुझाएका हुन्। उनीहरूले आयोगको नेतृत्वमा निष्पक्षता नभएको भन्दै प्रमुख राईले वाइडबडी काण्ड लगायतका विषयमा स्वतन्त्र र प्रभावकारी छानबिन नगरेको आरोप लगाएका छन्।
जेन जेड पुस्ताका युवाहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित बिना संसदीय सुनुवाई नियुक्त गरिएका सबै आयुक्तहरूको राजीनामा माग गर्दै आज टंगालस्थित आयोगको मुख्यालयमा पुगेर निवेदन दर्ता गराएका थिए ।
उनीहरूले आयोगमा पुगेर दर्ता नम्बर L 16402/2082-06-21 अनुसारको निवेदन बुझाउँदै वर्तमान नेतृत्वमा निष्पक्षता र विश्वसनीयताको अभाव देखिएको दाबी गरेका छन्।
संसद् विघटन भइसकेको अवस्थामा महाभियोग प्रक्रिया सम्भव नभएको उल्लेख गर्दै उनीहरूले नैतिक जिम्मेवारीका आधारमा राजीनामा दिनुपर्ने माग गरेका छन्।
अलायन्सले खुला प्रतिस्पर्धाबाट योग्य र सक्षम व्यक्तिलाई प्रमुख आयुक्तमा नियुक्त गर्न अन्तरिम सरकारसँग माग गर्दै, माग पुरा नभए आन्दोलन चर्काउने चेतावनीसमेत दिएको छ।
यसअघि पनि अलायन्सले इमेलमार्फत प्रमुख आयुक्त राईलाई राजीनामा दिन दबाबमूलक पत्र पठाएको जनाएको छ। ओली सरकारको पालामा नियुक्त भएका राईप्रति विश्वसनीयता गुम्दै गएको दाबी गर्दै, जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचार विरुद्ध सशक्त नेतृत्व आवश्यक रहेको बताएका छन्।
