ई-आर्थिक, काठमाडौं। हालै उज्यालो नेपाल पार्टी र सो पार्टीका अध्यक्षको हवाला दिँदै विभिन्न सामाजिक सञ्जाल र सञ्चार माध्यममा पूर्व नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक **कुलमान घिसिङ** पार्टीमा आवद्ध भएको भन्ने खालका सूचना र समाचारहरू प्रकाशित/प्रसारित भएका छन्।
तर, ती समाचारहरूमा उठाइएको दावीप्रति घिसिङले कडा आपत्ति जनाउँदै स्पष्ट खण्डन गरेका छन्।
एक सार्वजनिक वक्तव्य जारी गर्दै घिसिङले भनेका छन्, “सूचना / समाचारमा उल्लेख गरिएजस्तो उज्यालो नेपाल पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन । प्रचार गरिएजस्तो जुम बैठकमा मेरो सहभागिता पनि नरहेको स्पष्ट पार्दछु ।”
उनले आफूलाई कुनै सल्लाह वा सहमति बिना नियोजित रूपमा भ्रामक र तथ्यहीन प्रचार गरिएको भन्दै ती समाचारहरूप्रति आपत्ति जनाएका छन्।
उनको भनाइमा, “मसँग कुनै छलफल/सल्लाह नै नगरी दुषित मनशायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु ।”*
साथै, घिसिङले आगामी दिनमा यस्ता **आधारहीन सामग्री सम्प्रेषण नगर्न** सम्बन्धित पक्षको ध्यानाकर्षणसमेत गराएका छन्।