काभ्रे । सक्रिय मनसुनका कारण सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै काभ्रे जिल्लाको बीपी राजमार्गमा आज असोज १६ गतेदेखि २१ गतेसम्म राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
स्थानीय प्रशासनका अनुसार काभ्रे भञ्ज्याङ–भकुण्डेबेसी–सिन्धुली सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी यात्रुवाहक सवारी सञ्चालनमा निषेध गरिएको हो। अत्यावश्यक सेवाका सवारी मात्र चल्न पाउनेछन्।
जिल्ला प्रशासन कार्यालयले भारी वर्षाको सम्भावना रहेको भन्दै स्थानीय बासिन्दा र यात्रुलाई सावधानी अपनाउन, अनावश्यक यात्रा नगर्न र जोखिमयुक्त स्थानमा सतर्क रहन आग्रह गरेको छ।
गत वर्षको पहिरो र बाढीबाट राजमार्गमा क्षति पुगेको स्मरण गराउँदै, यसपालि पनि सतर्कता स्वरूप सडक डिभिजन र अन्य सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।