ई- आर्थिक, काठमाडौं । बडा दसैंको अवसरमा नेपाल प्रहरीको परम्परागत मौलो पूजा आज विशेष रूपमा सम्पन्न गरिएको छ। नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १, नक्सालस्थित मौलोमा बुधबार (असोज १५ गते) आयोजित पूजाअर्चनामा प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्गले विशेष पूजा, बली पूजा तथा निशानमा पञ्जा छाप लगाउनु भएको छ।
पूजाका क्रममा महानिरीक्षक खापुङ्गले विशेष सेवा र योगदानका लागि प्रहरी नायव निरीक्षक भवानी चन्दलाई *पगरी* र *नगद पुरस्कार* तथा प्रहरी हवल्दार राम कुमार कार्कीलाई *नगद पुरस्कार* प्रदान गर्नुभयो।
यस अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, र अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। उपस्थित सबैले मौलो परिक्रमा गरी शक्तिपूजामा सहभागी भएका थिए। पूजा सम्पन्न भएपछि निशान हनुमानढोका मूलकोततर्फ प्रस्थान गरिएको थियो भने पुजारीबाट टिका र प्रसाद ग्रहण गर्ने कार्य समेत सम्पन्न भएको थियो।
नेपाल प्रहरीले मौलो पूजालाई आफ्नो परम्परागत आस्थाको रूपमा निरन्तरता दिँदै आएको छ। संगठनले विक्रम संवत २०११ सालदेखि दशैंका अवसरमा निशान झण्डाको पूजा गर्दै आएको हो। नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो, जसमा दुईवटा झण्डा हुन्छन्। मुख्य झण्डामा सूर्य र चन्द्रको बीचमा राम धनुषको चिन्ह हुन्छ भने सहायक झण्डामा सूर्य र चन्द्रमात्र अंकित छन्।
निशान झण्डालाई शक्तिपीठ र ईष्टदेवताको प्रतीकका रूपमा पूजा गरिन्छ, जसले प्रहरी संगठनलाई राष्ट्र र जनताको सुरक्षामा सफलता प्राप्त गराउने विश्वास रहिआएको छ। कुनै अनिष्ट टरोस् र कार्य सम्पादनमा सफलता प्राप्त होस् भन्ने उद्देश्यले यो पूजाको परम्परा कायम गरिएको हो।
त्यस्तै, आजै देशभरका विभिन्न प्रहरी इकाईहरूमा समेत विधिपूर्वक मौलो पूजा सम्पन्न गरिएको नेपाल प्रहरीले जनाएको छ।