२०८३ साउन १० आइतबार

भक्तपुरमा आज परम्परागत ‘खःमेय् व्वाकेगु’ जात्रा मनाइँदै

ई आर्थिक    बुधबार, असोज १५ २०८२
2K
Shares
भक्तपुरमा आज परम्परागत ‘खःमेय् व्वाकेगु’ जात्रा मनाइँदै

भक्तपुर । महानवमीको अवसरमा भक्तपुरमा आज परम्परागत, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको ‘खःमेय् व्वाकेगु’ अर्थात् राँगो दौडाउने जात्रा धूमधामका साथ मनाइँदैछ।

परापूर्व कालदेखि मनाउँदै आइएको यस जात्रामा खःमेय्लाई (राँगोलाई) महिषासुर दैत्यको प्रतीकका रूपमा लिइन्छ। संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार, विजयादशमीको पूर्वसन्ध्यामा पर्ने महानवमीका दिन त्रिपुरासुन्दरी नवदुर्गा भवानीका रूपमा प्रकट भएर महिषासुरको वध गरेको धार्मिक लोककथासँग जोडेर यो जात्रा मनाउने परम्परा रहेको हो।

नवदुर्गा द्योःछें (देवगृह) मा राखिएको खःमेय्लाई विशेष तान्त्रिक विधिअनुसार पूजाआजा गरिन्छ। खःमेय्लाई जाँडको कट खुवाएर, जिउभरि सिन्दुर र तेल लगाई लठ्ठ पारिन्छ, र त्यसपछि देवगृहबाट बाहिर निकालेर दौडाउँदै ब्रम्हायणी पीठसम्म पुर्‍याइन्छ।

विशिष्ट खःमेय् छनोटको परम्परा

नवदुर्गा भवानीलाई चढाइने खःमेय् छनोटका लागि विशेष मापदण्डहरू तय गरिएका छन्। राँगो निख्खर कालो हुनुपर्ने, शरीरमा सात वटा चक्र र टाउकोमा दुई चक्र हुनुपर्ने, सिँङ अगाडि फर्किएको, कानमा कुनै खोट नभएको, शरीरमा चोटपटक नलागेको र कम्तीमा १०० धारनी तौल भएको मोटोघाटो हुनुपर्ने धार्मिक मान्यता छ।

खःमेय् पूजा र धार्मिक विश्वास

खःमेय्लाई बलि दिएपछि प्राप्त मासुलाई प्रसादका रूपमा घर–घर लग्ने चलन छ। त्यो मासुलाई सुकुटी बनाई लामो समयसम्म राखिन्छ। साथै, मासुको ससाना टुक्रा धुलो पारेर घिउमा मुछी बनाइएको धूप लक्ष्मीपूजाको दिन घरमा बाल्ने परम्परा पनि रहिआएको छ।

धूप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाश हुने र लक्ष्मीको वास हुने धार्मिक विश्वास रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij