काठमाडौं । आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको नवौँ दिन आज दुर्गाका नवौँ रूप सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना भइरहेको छ।
हिन्दू परम्पराअनुसार सिद्धिदात्री देवीले भक्तजनलाई सिद्धि र मोक्ष प्रदान गर्ने विश्वास गरिन्छ। देवी पुराणअनुसार ब्रह्मादेखि गन्धर्व, यक्ष, सुर र असुरहरूले पनि यी देवीको आराधना गर्ने गरेका छन्।
यसअघि नवरात्रको पहिलो दिनदेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि र महागौरी देवीको पूजा सम्पन्न भइसकेको छ।
आजको दिन शक्तिपीठहरूमा विशेष पूजाआराधना र भक्तजनको भीड लागेको छ।
यस वर्ष विजयादशमी असोज १६ गते बिहीबार परेको छ। टीका लगाउने साइत बिहान ११:५३ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
नवरात्रको प्रसाद कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ।