२०८३ साउन ११ सोमबार

डोल्पाबाट बागलुङसम्मको संघर्षमय यात्रा : दशैँ खर्च जुटाउन च्याङ्ग्रासहित ११ दिनको यात्रामा लोकबहादुर 

ई आर्थिक    मंगलबार, असोज १४ २०८२
3K
Shares
डोल्पाबाट बागलुङसम्मको संघर्षमय यात्रा : दशैँ खर्च जुटाउन च्याङ्ग्रासहित ११ दिनको यात्रामा लोकबहादुर 

ई-आर्थिक, बागलुङ । डोल्पाको काइके गाउँपालिका–४ का लोकबहादुर रोकाया दशैँ खर्च जोहो गर्न च्याङ्ग्राको बथान लिएर ११ दिनको कठिन यात्रा पार गर्दै बागलुङ आइपुगेका छन्। सोमबार साँझ बागलुङको बडिगाडमा भेटिएका रोकाया अघि–अगाडि सयौं च्याङ्ग्रा हाँक्दै थिए भने पछिपछि थकान र पसिनाले भिजेको शरीर बोकेर उनी आफैं हिँड्दै थिए।

१५ वर्षदेखि दशैँको समयमा च्याङ्ग्रा बिक्री गर्दै आएका रोकायाको यो भने बागलुङतर्फको पहिलो यात्रा हो। “यसपालि पोहोरको भन्दा ५० बढी च्याङ्ग्रा ल्याएको छु,” रोकाया भन्छन्, “बिक्री केही ढिला भएकाले अब कम मूल्यमै दिएर फर्किने सोचमा छु।”

डोल्पाबाट जाजरकोट, रुकुम हुँदै बागलुङ आएका रोकायाले यसअघि दाङतिर च्याङ्ग्रा लिएर जाने गरेका थिए। बडिगाड आइपुग्दासम्म उनी २०० च्याङ्ग्रा बेचिसकेका छन् भने बाँकी १०० सस्तोमै बिक्री गरेर फर्किने तयारीमा छन्।

“दशैँमा सहरबासीले च्याङ्ग्राको मासु मन पराउँछन्,” उनी भन्छन्, “हामी बेचेर केहि पैसा कमाउँछौं, बालबच्चालाई कपडा, जुत्ता किन्न सकिन्छ। गाउँमा च्याङ्ग्रा बेच्न गाह्रो छ, पैसा त शहरमै आउँछ।”

रोकायासँगै तिलमबहादुर खत्री पनि थिए। साझेदारीमा दुवैले डेढ–डेढ सय च्याङ्ग्रा लिएर आएका हुन्। खत्रीका अनुसार च्याङ्ग्राको मूल्य यसवर्ष ३० देखि ४५ हजारसम्म छ। बथानबाट छानिएका च्याङ्ग्रालाई उनीहरुले ४० हजार रुपैयाँमा बेचेका छन्। “यो मूल्य अघिल्लो वर्षको भन्दा चार हजारले कम हो,” खत्रीले बताए।

डोल्पादेखि बागलुङसम्मको यात्रा सहज छैन। “तर अहिले मध्यपहाडी लोकमार्ग बनेपछि यात्रा केही सहज भएको छ,” खत्री भन्छन्, “पहिलोपटक बागलुङ आएको छु।”

दशैँको समयमा म्याग्दी, बागलुङ, पोखरा र काठमाडौंका व्यापारीहरू मुस्ताङ, डोल्पा, हुम्लाजस्ता पहाडी जिल्ला पुगेर च्याङ्ग्रा खरिद गर्छन्। गोठमै सस्तोमा किनिएको च्याङ्ग्रा ठूला सहरमा पुर्‍याएर उनीहरू हजारौँ रुपैयाँ नाफा कमाउँछन्।

हरेक वर्ष जस्तै यस वर्ष पनि डोल्पा, मुगु, हुम्ला र मुस्ताङबाट सयौं व्यापारी च्याङ्ग्रा लिएर बागलुङ आइपुगेका छन्। बागलुङपछि उनीहरू पोखरा, काठमाडौंलगायत ठूला सहरमा पुग्ने गर्छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij