ई-आर्थिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन जना सल्लाहकारको नियुक्ति गरेकी छन्। उनीहरूले सम्बन्धित क्षेत्रका अनुभव बोकेको जनाइएको छ।
प्रधानमन्त्रीको मुख्य सल्लाहकारको जिम्मेवारी अजयभद्र खनाललाई दिइएको छ। सञ्चार क्षेत्रमा लामो अनुभव भएका खनाल पहिले ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका सम्पादक थिए।
यस्तै, आदर्शकुमार श्रेष्ठलाई सल्लाहकार तथा प्रमुख स्वकीय सचिवको रुपमा नियुक्त गरिएको छ। समाजशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठ हाल कानुन विषयमा अध्ययनरत छन्। उनी अघिल्ला तीन जना प्रधान न्यायाधीशहरूसँग निजी सहायकको रुपमा काम गरिसकेका छन्।
प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारको जिम्मेवारी गोविन्दनारायण तिमिल्सिनाले पाएका छन्। उनी ‘थापा फाउन्डेसन’का अध्यक्ष हुन्, जुन संस्था विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको स्मृतिमा स्थापना गरिएको हो।