ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार तोलाको २ लाख २३ हजार २ सय रुपैयाँ पुगेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार सुन प्रतितोला २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार सुनको मूल्य उच्च बिन्दुमा पुगेसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ७० रुपैयाँले बढेर २ हजार ८ सय १० रुपैयाँ कायम भएको छ।
नेपालमा सुनको मूल्य वृद्धि हुनुमा अन्तर्राष्ट्रिय बजारको प्रभाव मुख्य कारण मानिएको छ। हाल विश्व बजारमा अमेरिकी डलरको दर उच्च हुनु, अमेरिका र चीनबीचको आर्थिक अन्योलता, मध्यपूर्व क्षेत्रको तनाव र सुरक्षित लगानीको विकल्पको रूपमा सुनको माग बढ्नुले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भइरहेको छ।
यसबाहेक, नेपालमा दशैं, तिहारलगायतका पर्व नजिकिँदै गर्दा माग पनि बढ्ने भएकाले त्यसले मूल्यमा थप चाप परेको व्यवसायीहरू बताउँछन्। सुनको मूल्यमा यस्तो वृद्धिसँगै उपभोक्ताहरूमा थप बोझ पर्ने देखिएको छ।