काभ्रेपलाञ्चोक । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका–६ दुलालथोकमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले आजदेखि औपचारिक रूपमा सेवा सुरु गरेको छ। सेवा सञ्चालनसँगै काभ्रे जिल्लामा स्वास्थ्य बीमाअन्तर्गत उपचार प्रदान गर्ने सरकारी स्वास्थ्य संस्थाको संख्या आठ पुगेको छ।
पाँचखालस्थित केन्द्रले बीमाको प्रथम सेवा बिन्दुको रूपमा नियमित सेवा सुरु गरेको केन्द्र प्रमुख कोपिला कार्कीले जानकारी दिइन्। उनका अनुसार यो केन्द्रलाई आगामी दिनमा आधारभूत अस्पतालको रूपमा विकास गर्न आवश्यक जनशक्ति र भौतिक संरचना निर्माणको तयारी भइरहेको छ।
पाँचखाल नगरपालिकाले पहिले जनशक्ति अभावको कारण देखाउँदै सेवा सञ्चालन नगरेको भए पनि अब आवश्यक व्यवस्थापन पूरा गरी सेवा सुरु गरिएको जनाएको छ।
यसअघि जिल्लाको बनेपा नगरपालिकाले सञ्चालित बनेपा आधारभूत अस्पताल र मण्डनदेउपुर नगरको आधारभूत अस्पतालले पनि बीमा बोर्डसँग सम्झौता गरी सेवा प्रदान गर्दै आएका छन्। ती दुबै अस्पतालले भदौदेखि स्वास्थ्य बीमाअन्तर्गत सेवा दिन थालेका हुन्।
त्यसअघि मेथिनकोट प्रादेशिक अस्पताल, धुलिखेल, सुन्थान, खोपासी, र पाँचखालका प्राथमिक स्वास्थ्य केन्द्रहरू स्वास्थ्य बीमा बोर्डमा आबद्ध भइसकेका थिए। तीमध्ये केही केन्द्रहरूले जनशक्ति र पूर्वाधार अभावका कारण तत्कालीन अवस्थामा सेवा दिन सकेका थिएनन्।