दैलेख । डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौं तह) टंक बहादुर कार्की एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र आयोगको सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले उनलाई मिति २०८२ साल असोज २ गते सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–९, मंगलगढी चोकबाट नियन्त्रणमा लिएको हो।
उनीमाथि डुङ्गेश्वर गाउँपालिकामा सडक स्तरोन्नति तथा निर्माण कार्य सम्पन्न भइसकेपछि अन्तिम बिल भुक्तानी गरिदिने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागेको आरोप लागेको छ।
सेवाग्राहीले अख्तियारमा दिएको उजुरीका आधारमा अनुसन्धान टोलीले निगरानी गरी घुस लिइसकेको अवस्थामा कार्कीलाई पक्राउ गरेको हो। आयोगले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।