२०८३ भाद्र २६ शुक्रबार

खोटाङमा सहकारीकी कर्मचारी महिलामाथि सामूहिक बलात्कारपछि हत्या, एक जना पक्राउ

ई आर्थिक    बिहिबार, असोज २ २०८२
4K
Shares
खोटाङमा सहकारीकी कर्मचारी महिलामाथि सामूहिक बलात्कारपछि हत्या, एक जना पक्राउ

ई–आर्थिक, खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियारको सामूहिक बलात्कारपछि हत्या गरिएको खुलासा भएको छ।

दुई दिनअघि मार्से सामुदायिक वनको झाडीमा मृत अवस्थामा फेला परेकी परियारको बलात्कारपछि हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको हो।

रेश्मिका दिप्रुङ चुइचुम्मा–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत थिइन्। कार्यालयबाट घर फर्किंदै गर्दा ५–६ जनाको समूहले उनको बलात्कारपछि हत्या गरेको प्रहरीको भनाइ छ।

घटनामा संलग्न भएको आरोपमा दीपक सार्कीलाई प्रहरीले पक्राउ गरेको छ। उनले प्रारम्भिक बयानमा घटनामा संलग्न भएको स्वीकार गरेको प्रहरीले जनाएको छ।

सहकारीका अध्यक्ष सागर तामाङका अनुसार परियार सोमबार साँझ कार्यालयबाट बाहिरिएकी थिइन्। राति अबेरसम्म घर नपुगेपछि परिवारले खोजी थालेका थिए। खोजीका क्रममा उनी मार्से सामुदायिक वनको झाडीमा मृत फेला परेकी हुन्।

घटनास्थल नजिकै रेश्मिकाको चप्पल सडक छेउमा फेला परेको थियो। त्यहाँबाट शव रहेको स्थानसम्म घिसारिएको देखिन्छ। शवभन्दा केही तल झोला र अन्डरवेयर फेला परेको र सबैभन्दा तल रेश्मिकाको घाँटीमा कालो सलले बेरेको अवस्थामा शव भेटिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले जानकारी दिए।

प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ। स्थानीयवासीले अपराधमा संलग्न सबै दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij