ई-आर्थिक, काठमाडौं । अर्थमन्त्री डा. रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी नभएका र टुक्रे आयोजना कटौती गर्न सके करिब एक खर्ब रुपैयाँ स्रोत जुट्न सकिने बताएका छन्।
सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्रालयका उच्च अधिकारीहरूसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भनेका छन् कि अहिले मुलुकले ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने, पुनःनिर्माणको काम अगाडि बढाउनुपर्ने र तत्काल स्रोत जुटाउनुपर्ने चुनौती रहेको छ। त्यसैले बजेटमा परेका आयोजनाहरूलाई फिल्टर गरेर प्राथमिकता तय गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
यही सन्दर्भमा उनले बजेट महाशाखाका प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको जानकारी दिएका छन्, जसले बजेटका कार्यक्रमहरू विश्लेषण गरी आवश्यक कटौती र प्राथमिकीकरण गर्नेछ।
सिंहदरबारमा जेनजी आन्दोलनका कारण पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले भग्नावशेष हटाउने, भित्तामा रङरोगन गर्ने र पुनःनिर्माण छिटो थाल्ने कुरामा जोड दिएका छन्। उनका अनुसार, “हामी विनाशबाट उठ्यौं है भन्ने सन्देश अर्थ मन्त्रालयबाटै जान जरुरी छ।”
निजी सवारी साधनमा भएको क्षति बिमाबाट पूर्ति हुने बताएका छन् भने नयाँ सवारी साधन खरिद नगर्न, कबाडी सामान बेचेर व्यवस्थापन गर्नुपर्ने सुझाव पनि दिएका छन्।
उनले जेनजी आन्दोलनमा युवाहरूले ज्यानको आहुती दिई मुलुकको प्रमुख समस्या अन्त्य गरेको भन्दै सम्मान व्यक्त गरेका छन्। “यो जिम्मेवारी युवाहरू आफैले पनि लिन सक्थे, तर हामीमाथि विश्वास गरिएको छ,” उनले भनेका छन्, “अब गल्तीको कुनै गुञ्जायस नराखी काम गर्नेछौं।”
कर्मचारीहरूलाई विगतका गल्ती बिर्सन र अबको काममा समर्पित हुन आग्रह गर्दै, स्रोतको दुरुपयोग नगर्न र सार्वजनिक सम्पत्तिलाई व्यक्तिगत प्रयोजनमा नचलाउन निर्देशन दिएका छन्।
निजी क्षेत्रमाथि भएका आक्रमणलाई उल्लेख गर्दै निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने आवश्यकता उनले औंल्याएका छन्। “राजस्वका लागि निजी क्षेत्रलाई खुसी बनाउनुपर्छ, अनावश्यक दबाब होइन, सेवा सुधार गर्यो भने राजस्व आफै बढ्छ,” उनले स्पष्ट पारेका छन्।
त्यस्तै, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको सिफारिसहरू कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्। सार्वजनिक खर्चको उचित व्यवस्थापनमा प्राथमिकता दिने बताएका छन्।
सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पनि जेनजी आन्दोलनका कारण ६८ वटा बैंकका शाखा र ६९ वटा एटिएममा क्षति पुगेको जानकारी दिँदै, मनोबल उच्च बनाउने बेला भएको बताएका छन्। उनले राष्ट्र बैंकले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।