ई-आर्थिक, सङ्खुवासभा । सदरमुकाम खाँदबारीमा आइतबार रातिदेखि खानेपानी आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ। लगातारको वर्षापछि आएको पहिरोले खानेपानीको मुहान पुरिएपछि आपूर्ति बन्द भएको हो।
खाँदबारी नगरपालिका–४, महभिर क्षेत्रमा पहिरोले पाइप लाइन बगाएपछि पानी वितरण रोकिएको खाँदबारी खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष दिव्यराज बरालले जानकारी दिए।
पहिरोले क्षति पुर्याएको उक्त खानेपानी योजनाबाट खाँदबारी बजारका करिब एक हजार परिवार लाभान्वित हुँदै आएका थिए।
यसअघि पनि भदौ ५ गतेको पहिरोले मुहानको इन्टेक पूर्ण रूपमा पुरिँदा करिब एक सातासम्म आपूर्ति ठप्प भएको थियो। पुनःसञ्चालन भएपछि पुन: अर्को पहिरोले प्रणाली क्षतिग्रस्त बनाएको हो।
खानेपानी अवरुद्ध भएपछि तत्कालका लागि खाँदबारी–७ स्थित नेपाली सेनाको क्याम्पमा रहेको रिजर्भ ट्यांकीमार्फत पानी वितरण गरिने बताइएको छ। साथै, मर्मतका लागि प्राविधिक टोली आजैदेखि खटिएको अध्यक्ष बरालले जानकारी दिए।
पानी आपूर्ति ठप्प भएपछि स्थानीयवासी पुराना इनार र कुवाहरूमा निर्भर हुन थालेका छन्।
स्थानीय तह र सरोकारवाला निकायले मर्मत कार्य छिटो सम्पन्न गरी खानेपानी सेवा पुनः सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।