ई-आर्थिक, बुटवल । एनआईसी एशिया बैंकका ग्राहकहरूले अब बुटवलस्थित सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा १० प्रतिशतसम्म छुट सुविधा पाउने भएका छन्। बैंक र अस्पतालबीच हालै भएको सहकार्य सम्झौतापछि यो सुविधा उपलब्ध गराइएको हो।
उक्त सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले डिजिटल माध्यमबाट भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन्। छुटको सुविधा अस्पतालको भर्ना शुल्क (Admission Charge), शल्यक्रिया शुल्क (OT Charge), प्रयोगशाला परीक्षण (Lab Charge), औषधि (Medicine) र फार्मेसी (Pharmacy) सेवाहरूमा लागू हुने बैंकले जनाएको छ।
यसका लागि ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक (MoBank) एप प्रयोग गरी भुक्तानी गर्नु पर्नेछ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाका अनुसार, “यस सहकार्यले ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच दिनुका साथै डिजिटल कारोबार प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिएको छ।”
एनआईसी एशिया बैंकले देशभर विभिन्न क्षेत्रका सेवा प्रदायकहरूसँग सहकार्य गर्दै ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने अभियानलाई निरन्तरता दिँदै आएको छ।