ई-आर्थिक, काठमाडौं । जेनजी आन्दोलनबाट रोकिएको सरकारी भुक्तानी प्रक्रिया आजदेखि पुनः सुचारु गरिएको छ। मन्त्रालयका प्रवक्ता टंक पाण्डेका अनुसार आन्दोलन र तोडफोडका कारण रोकिएको अनिवार्य दायित्व भुक्तानी अहिले पुनः सुरु गरिएको हो।
अघिल्लो केही सातायता देखिएको आन्दोलन र त्यसक्रममा भएका तोडफोडका कारण सरकारी भुक्तानी प्रक्रिया अवरुद्ध भएको थियो। यसको प्रत्यक्ष असर निर्माण कम्पनी तथा अन्य ठेकेदारहरूमाथि परेको थियो। समयमै भुक्तानी नहुँदा धेरै व्यवसायी आर्थिक तनावमा परेका थिए।
प्रवक्ता पाण्डेले सरकार अब नियमित रूपमा भुक्तानी प्रक्रिया अघि बढाउने तयारीमा रहेको जानकारी दिएका छन्। भुक्तानी पुनः सुरु भएपछि निर्माण क्षेत्रका व्यवसायीहरूले केही राहत महसुस गरेका छन्।
सरकारले आवश्यक प्रक्रिया मिलाएर आगामी दिनमा थप सहज रुपमा भुक्तानीको कार्य अघि बढाउने आश्वासन दिएको छ।