रामेछाप । रामेछाप जिल्ला कारागारमा बिहीबार बिहान भीषण तनाव उत्पन्न भएको छ। कारागारभित्र कैदीबन्दीहरूले भाग्ने प्रयास गरेपछि सुरक्षाकर्मीले फायरिङ गर्नुपरेको र उक्त फायरिङमा तीन जना कैदीको मृत्यु भएको पुष्टि भएको छ। घटनामा अन्य १४ जना कैदीहरू घाइते भएका छन्।
घाइतेहरूलाई तत्काल जिल्ला अस्पताल रामेछापमा उपचारको लागि लगिएको छ। कारागारमा उत्पन्न तनाव नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ र हाल स्थिति नियन्त्रणमा रहेको जनाइएको छ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी भए पनि सुरुवाती जानकारी अनुसार कैदीहरूले योजनाबद्ध रूपमा कारागारबाट भाग्ने प्रयास गरेका थिए। सो क्रममा सुरक्षाकर्मीहरूसँग दोहोरो झडप भएको र अन्ततः गोली चलाउनुपरेको थियो।
यसैबीच, देशभरका विभिन्न कारागारहरूमा पनि असामान्य गतिविधि देखिन थालेका छन्। स्रोतका अनुसार हालसम्म करिब १३ हजारभन्दा बढी कैदी फरार भएको आशंका गरिएको छ। यसले देशभर नै कैदी आतंक फैलिएको अवस्था देखिएको छ।
सरकारले घटनाबारे छानबिन सुरु गरिसकेको छ भने सुरक्षा निकायहरूलाई उच्च सतर्कताका साथ कारागारहरूको निगरानी गर्न निर्देशन दिइएको छ। स्थानीय प्रशासन र सुरक्षा निकाय घटनाको विस्तृत विवरण संकलन गरिरहेका छन्।