ई-आर्थिक, काठमाडौं । जेन जी आन्दोलनका कारण सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था कमजोर बन्दै जाँदा बाजुरा बाहेकका सबै जिल्लाका कारागारहरूबाट करिब १,४०० कैदीबन्दी फरार भएका छन्।
मंगलबार आन्दोलन चर्किंदै गएपछि प्रदर्शनकारीहरूले कारागारमा धावा बोल्दै कैदीबन्दीहरूलाई भाग्न मद्दत गरेका हुन्।
प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा ठूलो क्षति कैलाली कारागारमा भएको छ, जहाँ कम्तीमा ७०० जना कैदी भागेको पुष्टि भएको छ। अन्य जिल्लाहरूमा पनि उल्लेख्य संख्यामा कैदी फरार भएको जनाइएको छ।
सुरक्षाकर्मी र प्रशासन अहिले फरार कैदीहरूको खोजीमा खटिएको छ भने स्थिति नियन्त्रणमा लिन थप सुरक्षा बल परिचालन गरिएको छ।