ई-आर्थिक, काठमाडौं । नेपाल आर्मीलले जनताको सूरक्षार्थ राति १० बजेदेखि परिचालन हुने भएको छ । हाल देशभर जारी अस्थिरता र तनावपूर्ण परिस्थितिको सन्दर्भमा नेपाली सेनाले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा भइरहेको क्षति प्रति गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिएको छ।
सेनाले आज एक विज्ञप्ति जारी गर्दै यस्ता अवाञ्छित कार्यहरू जारी रहे कडा कदम चालिने स्पष्ट पारेको छ।
नेपाली सेनाले केही समूहहरूले हालको विषम परिस्थितिको अनुचित फाइदा उठाउँदै लुटपाट, आगजनी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने गतिविधि गरिरहेको उल्लेख गर्दै, यस्ता कार्य नगर्न र नगराउन सबैमा पुनः आग्रह गरेको छ।
यस्ता गतिविधिहरू तत्काल नियन्त्रणमा नआएमा नेपाली सेना अन्य सुरक्षा निकायहरूसँग संयुक्त रूपमा स्थिति नियन्त्रणमा ल्याउन पूर्ण रूपमा सक्रिय हुने चेतावनी दिएको हो।
विज्ञप्तिमा भाद्र २४ गते राति १० बजेबाट नेपाली सेना देश र जनताको सुरक्षार्थ दृढ भएर तैनाथ हुने प्रतिबद्धता जनाइएको छ।
सेनाले सुरक्षाको अवस्था पुनः मूल्याङ्कन गर्दै आवश्यक सूचनाहरू समयअनुसार सार्वजनिक गरिने जानकारी समेत दिएको छ।
साथै नेपाली सेनाले राष्ट्रिय सुरक्षामा सहयोग गर्न सम्पूर्ण राष्ट्रबासीलाई हार्दिक अपिल गरेको छ।
