ई-आर्थिक, काठमाडौं । कारागारबाट रिहाइपछि नेता वि लामिछानेले आज सार्वजनिक अपिल जारी गर्दै आन्दोलनमा सहभागी जनतालाई संयमित रहन आग्रह गरेका छन्।
आन्दोलनका क्रममा सहादत प्राप्त गरेका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै लामिछानेले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले भने, *”यो देशलाई लुट्नेहरू अब सजायको कठघरामा आइपुगेका छन्। उनीहरूले संकलन गरेको सम्पत्ति तीन पुस्ताको पसिना र रगतको परिणाम हो। बाँकी सम्पत्ति पनि कानुनी दायरामा ल्याइनुपर्छ।”*
लामिछानेले सार्वजनिक सम्पत्ति र संवैधानिक संस्थाहरूको सुरक्षामा जोड दिँदै आन्दोलनमा सहभागी सबैलाई संयमता अपनाउन आग्रह गरे। *”प्रहरी, सुरक्षा निकाय, न्यायालय र राज्यका अभिलेखहरू नास भएमा त्यो हामी सबैका लागि अपूरणीय क्षति हुनेछ,”* उनले भने, *”त्यसैले सरकारी सम्पत्तिको रक्षा गर्नु हाम्रो पनि दायित्व हो।”*
उनले हालको आन्दोलनलाई नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने जनआन्दोलनको रूपमा व्याख्या गरे। *”यो शुद्ध रूपमा जेन-जेड पुस्ताको आन्दोलन हो। देश अब तिनीहरूको माग र परिकल्पना अनुसार अघि बढ्नुपर्छ,”* लामिछानेले प्रस्ट पारे।
सरकारले कानुनी प्रक्रिया पुरा गरी आफूलाई रिहा गरेको स्पष्ट पार्दै लामिछानेले भविष्यमा सबै कानुनी प्रक्रियामा सहभागी हुने प्रतिबद्धता जनाए। उनले भने, *”म नागरिक सर्वोच्चताको पक्षमा उभिन्छु र कानुनप्रति पूर्ण बफादार रहनेछु।”*
अन्त्यमा, उनले फेरि एकपटक सबैलाई संयमता अपनाउन, राष्ट्रका सम्पत्तिको सुरक्षा गर्न र देशलाई नयाँ बाटोतर्फ अघि बढाउन आह्वान गरेका छन्।