ई-आर्थिक, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सामाजिक अभियन्ता महावीर पुनले सरकार र राज्यका पूर्वाधारहरूलाई सुरक्षित राख्न आग्रह गरेका छन्।
भ्रष्टाचारविरोधी आन्दोलन चर्किंदै जाँदा देशका विभिन्न भागमा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको घटनाप्रति चिन्ता व्यक्त गर्दै पुनले सामाजिक सञ्जालमार्फत जनसमुदाय र आन्दोलनकारीहरूलाई शान्तिपूर्ण तरिकाले अगाडि बढ्न अनुरोध गरेका हुन्।
पुनले लेखेका छन्, *”सबै नेपालीहरूको साझा सम्पत्तिहरू — महत्त्वपूर्ण पूर्वाधारहरू, सञ्चारका पूर्वाधारहरू जस्तै डेटा, डेटा केन्द्र, इन्टरनेट, सञ्चार पूर्वाधार, विद्युत् केन्द्र, पानी आपूर्ति, अस्पताल र सरकारी कागजातहरू नष्ट नगर्नु होला भनी विनम्र अनुरोध गर्दछु।”*
उनको भनाइ अनुसार यस्ता संरचनाहरू नष्ट हुनु सम्पूर्ण नेपाली नागरिकको हितविपरीत हुनेछ र दीर्घकालीन असर पार्नेछ।
पछिल्ला दिनमा देशभरि चर्किएको आन्दोलनमा सरकारी कार्यालयहरू, सूचना प्रविधि केन्द्रहरू, र सार्वजनिक सेवाका पूर्वाधारहरूमा क्षति पुगेको विवरणहरू आएका छन्।
पुनको आग्रहले जनआन्दोलनको रेखा कता पुग्न सक्ने भन्ने बहसबीच संयमता र दीर्घदृष्टिको आवश्यकता रहेको सन्देश दिएको छ।