ई–आर्थिक, काठमाडौं । काठमाडौंको कालिमाटी चोकमा मंगलबार दिउँसो भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दुई प्रदर्शनकारीको ज्यान गएको छ।
‘जेनजी’ युवाहरूको नेतृत्वमा भइरहेको आन्दोलनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार दिउँसो करिब २ बजेतिर स्थिति तनावपूर्ण बनेपछि प्रहरीले गोली चलाएको हो।
दुई जना युवालाई टाउकोमा गोली लागेको र घटनास्थलमै गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि लगिएको थियो, तर अस्पतालमा मृत घोषणा गरिएको जनाइएको छ।
हाल स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरू खटिएका छन् भने घटनास्थल वरपरको क्षेत्र सिल गरिएको छ। आन्दोलनमा दर्जनौं आन्दोलनकारी घाइते भएका छन् ।