२०८३ साउन ११ सोमबार

रास्वपाका २० सांसदको सामूहिक राजीनामा, सरकारविरुद्ध तीव्र आक्रोश

ई आर्थिक    मंगलबार, भाद्र २४ २०८२
1.8K
Shares
रास्वपाका २० सांसदको सामूहिक राजीनामा, सरकारविरुद्ध तीव्र आक्रोश

ई-आर्थिक, काठमाडौं ।  प्रदर्शनमा सहभागी जेनजी पुस्तामाथि सरकारले गरेको बल प्रयोगको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदहरूले सामूहिक राजीनामा** दिएका छन्।

आज सिंहदरबारस्थित संसदीय दल सचिवालयमार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा पार्टीले वर्तमान सरकारको “नैतिक र राजनीतिक वैधता समाप्त ” भएको उल्लेख गर्दै प्रधानमन्त्रीको तत्काल राजीनामासहित ६ बुँदे माग अघि सारेको छ।

रास्वपाले देशमा व्याप्त भ्रष्टाचार कानुनी शासनको उपेक्षा, राजनीतिक क्रूरता, र अभिव्यक्ति स्वतन्त्रताको हनन** विरुद्ध जनताको आवाजमा साथ दिएको जनाएको छ।

पार्टीले जेनजी पुस्ताद्वारा आयोजित आजको शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको “बर्बर दमन” को कडा निन्दा गर्दै, “निहत्था युवाहरूको रगतमा लतपतिएको शासन अब जनताले सहन नसक्ने” चेतावनी दिएको छ।

रास्वपाका प्रमुख मागहरु

१. प्रधानमन्त्रीको तत्काल राजीनामा
२. घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन
३. सर्वपक्षीय अन्तरिम नागरिक सरकार गठन
४. प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री तथा काठमाडौंका सिडिओलाई बर्खास्त गरी हिरासतमा लिएर कारबाही
५. संविधान संशोधन प्रक्रिया सुरु गर्ने
६. ठूला भ्रष्टाचारका काण्डहरूको छानबिनका लागि अधिकार सम्पन्न आयोग गठन

राजीनामा दिने सांसदहरूको सूची

सामूहिक राजीनामा दिने सांसदहरूमा संसदीय दलका नेता रवि लामिछाने, डा. स्वर्णिम वाग्ले, डोलप्रसाद अर्याल, विराजभक्त श्रेष्ठ, सन्तोष परियार, सुमना श्रेष्ठ, सोबिता गौतम, डा. तोसिमा कार्की, शिशिर खनाल, गणेश पराजुली, मनिष झा, निशा डाँगी, हरि ढकाल, असिम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, शिव नेपाली, बिनिता कठायत, विन्दवासिनी कांसकार र प्रा.डा. चन्दा कार्की (भण्डारी) रहेका छन्।

रास्वपाले प्रदर्शनमा मारिएका युवाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचारको माग गरेको छ। पार्टीले जेनजी पुस्ताको आन्दोलनलाई “*देशको सम्पत्ति*” भन्दै पूर्ण समर्थन जनाएको छ।

नयाँ पुस्ताको बलिदान व्यर्थ जान दिन्नौं 

सांसदहरूको सामूहिक राजीनामा निर्णयलाई पार्टीले “**जनआन्दोलनको समर्थनमा राजनीतिक हस्तक्षेप**”को रूपमा व्याख्या गर्दै, अब देशको नेतृत्व सर्वपक्षीय नागरिक सरकारले लिनुपर्ने धारणा सार्वजनिक गरेको छ।

पार्टीले आगामी दिनमा आन्दोलनलाई थप संगठित र सशक्त बनाउने संकेत समेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij