ई-आर्थिक, काठमाडौं । सरकारविरुद्ध जेनजी पुस्ताले सुरु गरेको आन्दोलनले उग्र मोड लिँदै जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ। आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडान स्थगित गरिएको विमानस्थल कार्यालयले जनाएको छ। सुरक्षाको दृष्टिले एकवटा जहाज स्ट्यान्डबाइमा राखिएको छ भने अन्य सम्पूर्ण उडानहरू रोकिएका छन्।
सरकारद्वारा १९ जना युवाको हत्या भएपछि देशव्यापी रूपमा चर्किएको आन्दोलन काठमाडौंमा झनै विस्फोटक बन्दै गएको छ।
आन्दोलनकारीहरूले शीर्ष नेताहरूका निवासमा तोडफोड र आगजनी गर्न थालेपछि राजधानी तनावग्रस्त बनेको छ। यही त्रासका बीच केही शीर्ष नेताहरू सैनिक हेलिकप्टरबाट काठमाडौँ छाड्ने तयारीमा रहेको जनाइएको छ। बालुवाटार क्षेत्रमा तीन वटा हेलिकप्टर स्ट्यान्डबाइ अवस्थामा छन्।
स्थानीय नागरिकहरू , युवा, महिला, वयस्क सबै आन्दोलनमा उत्रिएपछि काठमाडौंका अधिकांश क्षेत्र प्रदर्शनको चपेटामा छन्।
नेताहरूको सुरक्षा सुनिश्चित गर्नुपर्ने अवस्था आएपछि सरकार पक्षले त्रिवि विमानस्थल बन्द गर्ने निर्णय गरेको स्रोतको दाबी छ।
उता, नागरिकको आक्रोश थप चुलिँदै जाँदा देशभरको अवस्था असहज बन्दै गएको छ भने सत्ता पक्षमाथि नैतिक र राजनीतिक दबाब बढ्दो छ।