धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लामा शान्तिपूर्ण आन्दोलन उग्र बन्दै गएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय, काभ्रेले भदौ २४ गते दिउँसो सवा १२ बजेबाट लागू हुने गरी कर्फ्यू लगाउने निर्णय गरेको हो।
प्रदर्शनकारीहरू आन्दोलित बनेसँगै स्थिति तनावपूर्ण बनेपछि प्रशासनले स्थानीय प्रशासन ऐनअनुसार निषेधाज्ञा जारी गर्दै कर्फ्यू आदेश जारी गरेको हो।
प्रदर्शनका क्रममा केही स्थानमा झडप तथा तोडफोडका घटनाहरू पनि देखिएपछि प्रशासनले शान्ति-सुरक्षा कायम गर्न कर्फ्यू आवश्यक भएको बताएको छ।
कर्फ्यू लगाइएको क्षेत्र र समयावधिबारे विस्तृत जानकारी दिइएको छैन, तर काभ्रेपलाञ्चोक जिल्लाका मुख्य राजमार्ग र बजार क्षेत्रमा आवतजावत पूर्ण रूपमा रोकिएको छ।
राजमार्गहरूमा यातायात ठप्प हुँदा काभ्रे हुँदै राजधानी आउजाउ गर्ने सम्पूर्ण सवारी साधन अवरुद्ध भएका छन्। लामो तथा छोटो दूरीका सवारीहरू बीच बाटोमै रोकिएका छन्।
जिल्ला प्रशासनले नागरिकहरूलाई अनावश्यक रूपमा घर बाहिर ननिस्कन र प्रशासनको आदेशको पालना गर्न आग्रह गरेको छ। कर्फ्यू उल्लंघन गर्नेलाई कानुनी कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ।
यसअघि राजधानी काठमाडौंसहित भक्तपुर र अन्य केही जिल्लामा पनि कर्फ्यू लगाइएको थियो। सरकारविरुद्ध देशभर जारी प्रदर्शन चर्किंदै जाँदा सुरक्षाकर्मीहरूको व्यापक उपस्थितिसमेत देखिएको छ।