ई-आर्थिक, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले भदौ २३ गते देशभर युवापुस्ताले शान्तिपूर्ण रुपमा आयोजना गरेको विरोध प्रदर्शनमा भएको प्रहरी दमनको घोर निन्दा र भत्सर्ना गरेको छ। इप्पानले १९ जना किशोर-किशोरीको ज्यान गएको घटनालाई अत्यन्त दुखद र लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको बताएको छ।
इप्पानद्वारा सोमबार जारी विज्ञप्तिमा सरकारले प्रदर्शनकारीमाथि गरेको निर्मम र बर्बर दमनलाई ‘घातक बल प्रयोग’ को संज्ञा दिँदै, मृतकप्रति श्रद्धाञ्जली र घाइतेप्रति समवेदना प्रकट गरिएको छ।
“किशोर-किशोरीबाट कुनै गैरकानुनी कार्य हुन लाग्दा नियन्त्रणमा लिन अन्य उपायहरू हुँदाहुँदै सिधै गोली हान्ने आदेश दिनु नै खेदजनक छ,” इप्पानको विज्ञप्तिमा भनिएको छ।
ऊर्जा क्षेत्रमा लगानी गर्दै आएका उद्यमीहरुको छाता संगठन इप्पानले सरकारको यस्तो व्यवहारले युवा पुस्तामा चरम निराशा उत्पन्न भएको र सोही कारण सडकमा आन्दोलनमा उत्रन बाध्य बनाएको उल्लेख गरेको छ। इप्पानका अनुसार ३ हजार मेगावाटभन्दा बढी ऊर्जा उत्पादन भइसकेको र ५ हजार मेगावाट क्षमताका आयोजनाहरू निर्माणमा रहेका छन्, जसबाट राज्यलाई वार्षिक साढे ३ अर्ब रुपैयाँ रोयल्टीसहित १० अर्बभन्दा बढी राजस्व तिर्दै आइरहेका छन्।
“ऊर्जा र पूर्वाधार क्षेत्रको थप विकास होस् भनेर अरबौं रकम कर तिर्दै आएका व्यवसायीहरूलाई समेत निराश पार्ने कार्यहरू भइरहेका छन्,” विज्ञप्तिमा भनिएको छ।
इप्पानले आन्दोलनको क्रममा ज्यान गुमाउने किशोर-किशोरीहरूको घटनालाई २०६२/६३ सालको जनआन्दोलनसँग तुलना गर्दै प्रश्न उठाएको छ— “१९ दिनमा १९ जनाको ज्यान गएको आन्दोलनपछि ज्ञानेन्द्र शाहले सत्ता हस्तान्तरण गरे, तर लोकतान्त्रिक सरकारकै पालामा एकै दिन १९ जनाको ज्यान जानु विडम्बनापूर्ण र लोकतन्त्रमाथिको आघात हो।”
इप्पानले सरकारसमक्ष निम्न मागहरू राखेको छ:
* घटनाको सत्यतथ्य छानबिन गर्न स्वतन्त्र समिति गठन
* मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचार्
* प्रदर्शनकारी युवाहरूले उठाएका भ्रष्टाचार अन्त्य, जवाफदेहिता र नागरिक स्वतन्त्रता सुनिश्चित गर्ने मागहरूको सुनुवाइ
इप्पानले अन्त्यमा सम्पूर्ण ऊर्जा उद्यमीहरूलाई नजिकको अस्पतालमा उपचाररत घाइतेहरूको लागि आर्थिक तथा भौतिक सहयोग गर्न अपिल समेत गरेको छ। विज्ञप्तिमा महासचिव बलराम खतिवडा र अध्यक्ष गणेश कार्कीका हस्ताक्षर रहेका छन्।