काठमाडौं : काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंको चक्रपथ क्षेत्रभित्र अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) छविलाल रिजालका अनुसार आज (आइतबार) बिहान ८:३० बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरिएको हो।
यसअघि हिजो जेनजी युवाहरूको प्रदर्शनपछि लगाइएको कर्फ्यु आज बिहान ५ बजे सकिएको थियो। तर अवस्था नियन्त्रणमा नआएपछि प्रशासनले फेरि कर्फ्यु आदेश जारी गरेको हो।
प्रजिअ रिजालले जानकारी दिएअनुसार, बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण भूभागमा कर्फ्यु लागू गरिएको छ।
कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। साथै, सर्वसाधारणलाई हिँडडुल गर्न, सभा-जुलुस वा कुनै पनि प्रकारको प्रदर्शन गर्न निषेध गरिएको छ।
कर्फ्यु लगाउने निर्णय हिजो भएको जनप्रदर्शनपछि उत्पन्न अस्थिर परिस्थितिलाई नियन्त्रणमा ल्याउन गरिएको हो। सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै सडकमा उत्रेका युवामाथि प्रहरीले बल प्रयोग गर्दा १९ जनाको ज्यान गएको पुष्टि भएको छ।
जिल्ला प्रशासनले सर्वसाधारणलाई संयमित र सतर्क रहन आग्रह गरेको छ। परिस्थिति सुधार भएलगत्तै कर्फ्यु हटाइने प्रशासनको भनाइ छ।
