ई-आर्थिक, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ संयुक्त समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा निर्विरोध निर्वाचित भएका छन्।
शुक्रबार साँझ बसेको समितिको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले खतिवडालाई सभापतिमा चयन गर्न प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले समर्थन गरेका थिए।
बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले खतिवडाको नाममा कुनै अन्य प्रतिस्पर्धी उम्मेदवार नआएको भन्दै उनलाई सर्वसम्मत सभापति घोषणा गरेका हुन्।
यसअघि खतिवडा निजामती सेवा सम्बन्धी विधेयकमा ‘कुलिङ पिरियड’ व्यवस्थासम्बन्धी विवादमा नैतिक जिम्मेवारी लिँदै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको जिम्मेवारीबाट राजीनामा दिएका थिए।
संसदीय सुनुवाइ समिति मुलुकका संवैधानिक पदाधिकारी र न्याय क्षेत्रका उच्च पदहरूमा नियुक्तिको सिफारिस अनुमोदन गर्ने महत्वपूर्ण जिम्मेवारी बहन गर्छ।