२०८३ साउन १० आइतबार

विश्व बैंक उपाध्यक्ष जुटको नेपाल भ्रमण सम्पन्न, २.७ अर्ब डलरको सहकार्य प्रतिबद्धता

ई आर्थिक    शुक्रबार, भाद्र २० २०८२
2.2K
Shares
विश्व बैंक उपाध्यक्ष जुटको नेपाल भ्रमण सम्पन्न, २.७ अर्ब डलरको सहकार्य प्रतिबद्धता

ई-आर्थिक, काठमाडौं ।  विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष जोहान्स जुटले नेपाल भ्रमण सम्पन्न गरेका छन्। पाँच दिने औपचारिक भ्रमणका क्रममा उनले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, सहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग उच्चस्तरीय भेटवार्ता गरेका हुन्।

जुटले  १० वर्षपछि नेपाल फर्किएको अनुभवलाई “उत्साहजनक” भन्दै नेपालले पछिल्लो दशकमा शान्ति स्थायित्व, लोडसेडिङ अन्त्य, सेवा प्रवाह सुधार, भूकम्प र महामारीपछिको पुनःस्थापनामा गरेको प्रगति उल्लेखनीय भएको बताए। उनले कृषि, पर्यटन र सूचना प्रविधि लगायतका क्षेत्रमा सरकार, निजी क्षेत्र र विकास साझेदारहरूसँग छलफल गर्न पाएकोमा सन्तोष व्यक्त गरे।

भ्रमणका क्रममा उनले  विश्व बैंक समूहको नेपालको लागि नयाँ देश साझेदारी रूपरेखा (Country Partnership Framework) प्रस्तुत गरे, जुन नेपालको आगामी सोह्रौं योजनासँग पूर्ण रूपमा समन्वयमा तयार गरिएको हो। यस रूपरेखा अन्तर्गत नेपालका प्रमुख चुनौती, रोजगारी सिर्जना र विपद् सहनशीलतामा केन्द्रित सहयोग गरिनेछ।

विश्व बैंकले सन् २०२५ देखि २०३१ सम्म नेपाललाई करिब २.७ अर्ब अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने तयारी गरेको छ। यस सहकार्यले व्यवसायमैत्री वातावरण, लगानी प्रवर्द्धन, पर्यटन र डिजिटल विकासजस्ता क्षेत्रमा उल्लेखनीय सुधार ल्याउने लक्ष्य राखेको छ।

“हरेक वर्ष करिब पाँच लाख युवा श्रम बजारमा प्रवेश गरिरहेका छन्,” जुट्टले भने, “रोजगारी सिर्जनाका माध्यमबाट परिवारलाई गरिबीबाट मुक्त गर्दै दिगो विकासतर्फ उन्मुख गराउने प्रयास आजको आवश्यकता हो। यसमा हामी सरकार र निजी क्षेत्रसँग सहकार्य गर्न तयार छौं।”

जुटले गत जुलाई १ देखि दक्षिण एसिया क्षेत्रीय उपाध्यक्षको भूमिका सम्हालेका हुन्। यसअघि उनी सन् २०१३ देखि २०१५ सम्म विश्व बैंकको नेपाल कन्ट्री डाइरेक्टरको जिम्मेवारीमा थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij