ई–आर्थिक, काठमाडौं । नेपाल सरकारले सूचीकरणका लागि सम्पर्क नगरेका सामाजिक सञ्जालहरूलाई निष्क्रिय गर्न निर्देशन दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई यो निर्देशन दिएको हो।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा आज मन्त्रालयमा बसेको बैठकले तोकिएको समयावधिभित्र सूचीकरण नगरेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन निर्देशन दिएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
निर्देशन अनुसार, समयमै सूचीकरण गरेमा ती प्लेटफर्महरू पुनः सक्रिय गर्न सकिनेछ।
सरकारले यसअघि सामाजिक सञ्जाल नियमनका लागि ‘डिजिटल नेपाल फ्रेमवर्क’ अन्तर्गत सूचीकरण अनिवार्य गरेको थियो। यस निर्णयपछि मन्त्रालयले प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूलाई पटक–पटक सम्पर्क गरी सूचीकरणको प्रक्रिया सुरु गर्न आग्रह गरेको थियो। तर, केही प्लेटफर्महरूले अझैसम्म मन्त्रालयसँग सम्पर्क गरेका छैनन्।
मन्त्रालयका अनुसार, सामाजिक सञ्जालको दुरुपयोग रोक्न तथा डिजिटल सुरक्षालाई सुदृढ बनाउन यस्तो निर्णय गरिएको हो।