ई-आर्थिक, चितवन । चाडपर्वको बेला सडकमा हुने सवारी चापलाई ध्यानमा राख्दै नागढुंगा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु खण्डमा मर्मत तथा स्तरोन्नति कार्य तीव्र बनाइएको छ।
सडकमा कालोपत्रबाहेकका खाल्डाखुल्डी पूर्ने, सम्याउने र गिट्टीले भर्ने काम सुरु गरिएको हो। आयोजनाका प्रमुख केदारप्रसाद नेपालका अनुसार दसैं–तिहारमा यात्रुहरूको चाप बढ्ने भएकाले दुर्घटना न्यूनीकरण र यात्रालाई सहज बनाउन तत्काल आवश्यक मर्मतलाई प्राथमिकता दिइएको छ।
हालसम्म ३८ किलोमिटरमध्ये ८ किलोमिटर सडक कालोपत्र गरिएको छ भने बाँकी खण्डमा तयारी भइरहेको छ। बर्खे समयमा कालोपत्र गर्न नसकिने भएकाले हाललाई नाली निर्माण, स्टिल राख्ने र आरसीसी सेफ्टी बेरियरको काम पनि अगाडि बढाइएको छ।
सडकखण्डमा पर्ने ६ मध्ये ४ वटा पुल—मौवा खोला, खटौती, गौमती र वारबाङ—को काम अन्तिम चरणमा पुगेको छ। यी पुलहरू आगामी २ महिनाभित्र सम्पन्न हुने आयोजनाको भनाइ छ। बाँकी चरौँदी र हुग्दी पुलमा फाउन्डेसन निर्माण भइरहेको छ। यी दुई पुल आगामी मनसुन सुरु हुनु अघिसम्म सक्ने लक्ष्य लिएको छ।
आयोजनाका इन्जिनियर विजय दरैका अनुसार हालसम्म सडक स्तरोन्नतिको ३५ प्रतिशत काम सम्पन्न भएको छ। उनका अनुसार मलेखु, बेनीघाट र मुग्लिन क्षेत्रमा २.२ किलोमिटर सडक ६ लेनको बन्नेछ भने ७.२ किलोमिटर खण्ड चार लेनको हुनेछ। अन्य उकालो–ओरालो क्षेत्रमा २.३ किलोमिटर क्लाइम्बिङ लेन र बाँकी सडक दुई लेनको हुनेछ।
२०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्ने गरी आयोजना सुरु गरिएको हो। यो खण्ड मुग्लिन–नागढुंगा सडक स्तरोन्नतिको तेस्रो चरणमा पर्दछ, जसमा ३८.८६ किलोमिटर सडक समावेश छ। शर्मा–जेडआईसीजी जेभीले करिब ४ अर्ब ८० करोड रुपैयाँमा निर्माणको ठेक्का पाएको हो। आयोजनामा नाला निर्माण, पहिरो रोकथाम, पर्खाल, सडक सुरक्षालगायत संरचना निर्माण कार्य समावेश छन्।
सडक निर्माणमा ढिलाइ हुनुमा डिजाइन परिवर्तन, निर्माण सामग्रीको आपूर्ति समस्या र सवारी चाप उच्च हुनु प्रमुख कारण रहेको निर्माण पक्षको भनाइ छ। यो सडक काठमाडौं प्रवेश र निर्गमनको मुख्य मार्ग भएकाले निर्माण कार्यमा चाँडो प्रगति आवश्यक देखिएको छ।