२०८३ साउन ११ सोमबार

दार्चुलाको तिंकर र छाङ्गरुमा सडक र संचार विहीन जनजीवन, बाढीपछि सम्पर्कविहीन

ई आर्थिक    बुधबार, भाद्र १८ २०८२
2.8K
Shares
दार्चुलाको तिंकर र छाङ्गरुमा सडक र संचार विहीन जनजीवन, बाढीपछि सम्पर्कविहीन

ई-आर्थिक, दार्चुला ।  देशको सबैभन्दा चर्चित सिमावर्ती क्षेत्र — कालापानी, लिपुलेक र लिम्पियाधुरा रहेको दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ अन्तर्गतको छाङ्गरु र तिंकर गाउँ अझै पनि सडक र संचार सुविधाविहीन अवस्थामा छ।

गत साउन २८ गते आएको बाढीले पैदल मार्ग बगाएपछि अहिले पनि स्थानीयहरू भारतीय बाटो भएर आवतजावत गर्न बाध्य छन्। छाङ्गरुबाट तिंकरसम्मको १० किलोमिटर दुरीमा रहेको बाटो बाढीले बगाएपछि जनजीवन थप कष्टकर बनेको छ।

वडासचिव विनोदसिंह बुढाथोकीका अनुसार बाटो अवरुद्ध भएपछि खाद्यान्न ढुवानीसमेत असहज भएको छ। “स्थानीयले मौज्दात खाद्यान्नमा गुजारा गरिरहेका छन्। तत्काल बजेटको सम्भावना नभएकोले अवस्था थप जटिल हुन सक्छ,” उनले भने।

सञ्चार सेवाको अवस्था पनि झन् विकराल छ। तिंकर गाउँमा तीन हप्ता बढी भयो, मोबाइल नेटवर्क नै छैन। स्थानीयले सुरक्षाकर्मीको सेट प्रयोग गरी मात्र खबर पठाउनु पर्ने बाध्यता भोगिरहेका छन्। छाङ्गरुमा नेपाल टेलिकमको सेवा सक्रिय भए पनि तिंकरवासी सञ्चारविहीन छन्।

तिंकरमा झण्डै ७० परिवारको बसोबास छ। उनीहरू जेठ महिनामा कुञ्चा सरेर अहिले पुनः गाउँ फर्किएका हुन्। टेलिकम सेवा अवरुद्ध हुँदा सुरक्षाकर्मी समेत आफ्ना परिवारसँग सम्पर्क गर्न नसकेको स्थानीयले बताएका छन्।

गत वर्ष संघीय सरकारको विशेष अनुदानमा बनाइएको २० किलोमिटर सडक समेत अहिलेको अवस्थाले प्रभावकारी नभएको देखिएको छ। अधिकांश ठाउँमा हिँडडुल गर्नसमेत समस्या छ।

गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवरले आवश्यक बजेट व्यवस्थापन, खाद्यान्न आपूर्ति तथा स्थानीय बाटो निर्माणमा सरकारले तुरुन्त पहल लिनुपर्ने बताए। “यदि यी विकल्प सम्भव छैन भने हेलिकोप्टरबाट राहत पुर्‍याउनुपर्छ,” उनले भने।

पर्यटन अभियानकर्मी हिमालय भट्टले भने, “ओम पर्वतदेखि लिम्पियाधुरासम्म नेपालको भूभाग हो भन्ने दाबीलाई व्यवहारमा उतार्न छाङ्गरु–तिंकर क्षेत्रको तीव्र विकास आवश्यक छ।”

हाल स्थानीय, जनप्रतिनिधि र सुरक्षाकर्मीको श्रमदानमा तीन वटा काठे पुल बनाइएको छ। केही ठाउँमा बाटो खुले पनि पशुचौपाया वा सवारी आवतजावतका लागि अझै उपयुक्त छैन, वडाध्यक्ष अशोकसिंह बोहराले जानकारी दिए।

उनका अनुसार दुई वर्षअघि बनाइएको पैदलमार्ग पूरै बाढीले कटान गरेपछि अहिलेको समस्या देखिएको हो। पुनः निर्माणका लागि ठूलो बजेटको आवश्यकता रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij