युरोमनि एक्सिलेन्स २०२५ अन्तर्गत ‘नेपाल्स बेस्ट डिजिटल बैंक फर एसएमईएस’ बाट सम्मानित
काठमाडौं । प्रभु बैंकले साना तथा मझौला उद्यम (एसएमईएस) लक्षित डिजिटल सेवा प्रवाहमा उल्लेखनीय योगदान पु¥याउँदै युरोमनि एक्सिलेन्स अवार्ड २०२५ अन्तर्गत ‘नेपाल्स बेस्ट डिजिटल बैंक फर एसएमईएस’ उपाधि हात पारेको छ।
अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था युरोमनि लिमिटेड द्वारा सिंगापुरमा आयोजना गरिएको एक भव्य समारोहका बीच उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रममा बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित तीन महिला अधिकृतहरूले संयुक्त रूपमा सम्मान ग्रहण गरेका थिए।
यस सम्मानले प्रभु बैंकले साना तथा मझौला व्यवसायहरूलाई लक्षित गर्दै प्रवाह गरेको डिजिटल सेवा, नवीन प्रविधिको प्रयोग, र ग्राहक केन्द्रित समाधानहरूलाई अन्तर्राष्ट्रिय स्तरमा उच्च मूल्याङ्कन गरिएको पुष्टि गरेको छ।
प्रभु बैंकले पछिल्लो केही वर्षयता मोबाइल र इन्टरनेट बैंकिङ, डिजिटल कर्जा सेवा, व्यवसायिक भुक्तानी समाधान, अनलाइन खाता सञ्चालन, राजस्व तथा कर भुक्तानी प्रणाली, बीमा तथा वित्तीय परामर्श सेवा लगायत स्मार्ट सेवाहरू प्रदान गर्दै आएको छ। यी सबै प्रयासहरूले एसएमईहरूलाई सुलभ, सुरक्षित र छरितो डिजिटल बैंकिङमा समावेश गराउँदै आएका छन्।
बैंकका अनुसार, एसएमई क्षेत्रलाई प्राथमिकता दिँदै अनुकूलित डिजिटल सेवा विकासमा लगानी बढाइएको छ। यही रणनीति र नवप्रवर्तनशीलताले गर्दा प्रभु बैंकले यो अन्तर्राष्ट्रिय उपाधि प्राप्त गर्न सफल भएको हो।
अवार्डप्राप्तिसँगै बैंकका प्रमुख कार्यकारी अधिकृतले यो उपलब्धि केवल संस्थागत सफलता नभई सम्पूर्ण नेपाली उद्यमशीलता समुदायको जित भएको उल्लेख गरे। उनले भने, “डिजिटल वित्तीय पहुँचमार्फत साना व्यवसायहरूलाई सशक्त बनाउने अभियानमा हामी अझ प्रभावकारी योजना ल्याउनेछौं।”
हाल प्रभु बैंकले देशभर ३१२ शाखा, ४८ एक्स्टेन्सन काउन्टर, र २५६ एटीएममार्फत सेवा दिइरहेको छ। यसअघि पनि बैंकले ‘बैंक अफ दि इयर २०२३’ जस्तो प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको छ।