२०८३ साउन १० आइतबार

गुल्मीको मुसिकोटमा पहिलोपटक सहकारीद्वारा उत्पादित मकैको आटो ब्रान्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य

ई आर्थिक    बुधबार, भाद्र १८ २०८२
5.8K
Shares
गुल्मीको मुसिकोटमा पहिलोपटक सहकारीद्वारा उत्पादित मकैको आटो ब्रान्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य

गुल्मी : गुल्मी जिल्लामा पहिलोपटक मकैको आटो ब्रान्डिङ गरी व्यावसायिक रुपमा बजारीकरण सुरु गरिएको छ। मुसिकोट नगरपालिका–३ मा रहेको साना किसान कृषि सहकारी संस्थाले ‘साना किसानको पोषिलो आटो’ नामक ब्रान्डमार्फत बजारमा आटो ल्याएको हो।

सहकारीले मकैको प्रशोधन, प्याकेजिङ र लेबलिङ सहितको खाद्य प्रशोधन उद्योग स्थापना गरेर शनिवारदेखि आटो औपचारिक रुपमा बजारमा पठाएको छ। परियोजनाका लागि करिब ९० लाख रुपैयाँ लगानी गरिएको छ, जसमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मुसिकोट नगरपालिका र कृषि ज्ञान केन्द्रको साझेदारीमा ७३ लाख रुपैयाँ र सहकारीको १६ लाख ५० हजार रुपैयाँ खर्च गरिएको हो।

सहकारीका अध्यक्ष हरि छन्तेलका अनुसार स्थानीय किसानहरूबाट प्रति पाथी २०० रुपैयाँमा मकै खरिद गरी प्रशोधन गरिएको हो। आटो अहिले १ किलोको प्याकेटमा १३० रुपैयाँमा बिक्री भइरहेको छ भने २५ किलोको बोरामा पनि बजारमा पठाइएको छ।

सहकारीले पहिलो चरणमा कम्तीमा ३५ टन आटो बिक्री गर्ने लक्ष्य लिएको छ। व्यवस्थापक विवेक पेमीका अनुसार आटो स्थानीय बजार हुँदै बुटवल र काठमाडौंसम्म पुर्‍याइनेछ।

मध्य पहाडी क्षेत्रमा उत्पादित मनकामना, देउती र रामपुर कम्पोजिट जातका मकै स्वाद, पोषण र गुणस्तरका हिसाबले उत्कृष्ट मानिन्छन्। त्यसैले यी जातका मकैबाट उत्पादन भएको आटो र पिठो बजारमा पठाइएको हो।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, गुल्मीले आटोको ब्रान्डिङ, लेबलिङ र प्याकेजिङका लागि ८५% अनुदानमा उपकरण सहयोग उपलब्ध गराएको जानकारी प्रमुख रमेश जैसवालले दिनुभयो।

बजार प्रवर्द्धन कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल ‘जीवन’ ले सहकारीले देखाएको पहल गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्न सक्ने उदाहरण भएको बताउनुभयो। उहाँले नगरपालिकाबाट पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

जिल्लामा २४,४६५ हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ, जसमध्ये ११.२३ प्रतिशत क्षेत्रमा हाईब्रिड मकै उत्पादन भइरहेको छ। मकै उत्पादन र बीउ उत्पादनको विकास गर्न ‘मकै जोन’ कार्यक्रम विस्तार गरिएको छ।

स्थानीय उत्पादनको प्रवर्द्धन र कृषकहरूको जीवनस्तर उकास्न यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने भन्दै सहकारी र कृषि आधुनिकीकरण कार्यक्रमले स्थानीय उपभोक्तालाई स्वस्थ र स्वादिलो आटो प्रयोग गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij