दार्चुला । चीनसँग सिमाना जोडिएको दार्चुलाको व्यास गाउँपालिका–१ अन्तर्गत पर्ने तिङ्कर गाउँमा तीन सातादेखि सञ्चार सेवा अवरुद्ध भएको छ।
गत साउन २८ गते आएको बाढी र चट्याङका कारण नेपाल टेलिकमको टुजी (2G) सेवा बन्द भएपछि स्थानीयहरु सम्पर्कविहीन बनेका हुन्। नेपाल टेलिकमको टावरमा चट्याङले क्षति पुर्याएपछि सेवा पूर्ण रूपमा अवरुद्ध भएको स्थानीय आस्तिक तिङ्करीले जानकारी दिए।
उनका अनुसार गाउँमा वैकल्पिक रूपमा रहेको भिसेट फोन पनि निरन्तरको वर्षाका कारण राम्रोसँग काम गर्न सकेको छैन। “फोन नहुँदा अत्यावश्यक कुराकानी र आपतकालीन सम्पर्कमा ठूलो समस्या भएको छ,” तिङ्करीले बताए।
व्यास–१ का वडा सचिव विनोदसिंह बुढाथोकीका अनुसार टावर काम नगर्दा स्थानीय प्रशासनसँग समेत सम्पर्क विच्छेद भएको छ।
नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले टावरमा सफ्टवेयरसम्बन्धी समस्या भएको हुनसक्ने जनाएका छन्। “हामीले समस्या केन्द्रिय कार्यालयमा जानकारी गराइसकेका छौं। समाधानका लागि प्रयास जारी छ,” गुरुङले भने।
तिङ्कर गाउँमा झण्डै ७० परिवारको बसोबास रहेको छ। खलङ्गाबाट जेठमा बसाइँ सरेका यहाँका बासिन्दा मंसिरमा पुनः सदरमुकाम फर्कने गर्छन्।
सञ्चार सेवा अवरुद्ध हुँदा आपतकालीन सेवा, स्वास्थ्य उपचार र सरकारी सेवा–सुविधामा गम्भीर असर परेको स्थानीयको गुनासो छ।