ई-आर्थिक, चितवन । भरतपुर महानगरपालिका–७ का ३८ वर्षीय शुलभ श्रेष्ठ सजावटमा प्रयोग हुने फूलको व्यावसायिक खेतीमार्फत आत्मनिर्भर बन्न सफल भएका छन्। कामिनी (बज्रदन्ती) र जिप्सी जस्ता फूलको खेती गर्दै आएका श्रेष्ठले चितवनमै रोजगारी र आम्दानीको राम्रो अवसर सिर्जना गरेका छन्।
श्रेष्ठले विगत १३ वर्षदेखि फूलखेती गर्दै आए पनि पछिल्ला तीन वर्षदेखि विशेषगरी विवाह, व्रतबन्ध, भोजभतेर र अन्य कार्यक्रममा प्रयोग हुने सजावटी फूलमा ध्यान केन्द्रित गरेका छन्। उनका अनुसार, सुरुमा परीक्षणका रूपमा गरिएको खेती अहिले व्यावसायिकरूपमै विस्तार गरिएको छ।
‘बुबाले सयपत्री फूलको व्यापार गर्नुहुन्थ्यो, म त्यसैलाई परिस्कृत गर्दै अगाडि बढेको हुँ’, श्रेष्ठले भने, ‘कोरोनाकालमा काठमाडौंबाट फर्किएपछि चितवनमै व्यावसायिक फूलखेती सुरु गरेँ। त्यसयता फूलको माग र मूल्य दुवै बढ्दै गएको छ।’
कामिनी फूलको मूल्य ८० देखि १०० रूपैयाँसम्म पर्न जान्छ भने जिप्सी फूल दुई हजार रूपैयाँसम्म बिक्री हुने गरेको श्रेष्ठले बताए। उनका अनुसार, कामिनी फूल हाँगासहित बिक्री हुने गर्दछ, जसले फूलको आकर्षण झनै बढाउँछ।
श्रेष्ठले चितवन र नवलपरासी जिल्लामा गरी तीन बिघा जमिनमा फूल खेती गर्दै आएका छन्। अहिले उनी चितवन, काठमाडौं, पोखरा, वीरगञ्ज, बुटवल, दाङलगायतका सहरमा फूल आपूर्ति गर्दै आएका छन्।
‘पहिले सयपत्री फूलको माला १० रूपैयाँमा किनिदिनुस् भनेर हारगुहार गर्दा पनि बिक्री हुँदैनथ्यो’, उनले विगत सम्झँदै भने, ‘अहिले भने माग बढेको छ, र फूल व्यवसायबाट नै सन्तुष्ट जीवन बिताइरहेको छु।’
श्रेष्ठको व्यवसायमा हाल परिवारका सदस्यसहित १९ जनाले रोजगारी पाएका छन्। उनले फूल व्यवसायलाई अझै फ्रेन्चाइज र निर्यातमुखी रूपमा विस्तार गर्ने योजना बनाइरहेका छन्।
श्रेष्ठ आजको दिनमा फूल व्यवसायबाट सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरणीय पात्र बन्न पुगेका छन्।