ई-आर्थिक, कञ्चनपुर । कञ्चनपुरको दोधरा चाँदनी नगरपालिकाका तीन वडामा अविरल वर्षापछि आएको बाढीका कारण डुबानमा परेका ५४ घरका २१८ जना बासिन्दा अझै घर फिर्ता हुन सकेका छैनन्। लगातारको वर्षाले जोगबुढा नदीमा आएको बाढी बस्तीमा पस्दा उनीहरू विस्थापित भएका थिए।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बाढीले डुबानमा परेका बासिन्दालाई विभिन्न सुरक्षित स्थानमा सारिएको छ। रामपुरे टापुर जर्गा टोल (वडा नं. ८) का २५ घरका ७० जना जनज्योति माध्यमिक विद्यालयमा, पटरा खल्ला टोल (वडा नं. ३) का १५ घरका ५५ जना चौपायासहित जमुना आधारभूत विद्यालयमा र शान्ति टोल (वडा नं. १०) का १२ घरका ४० जना अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएका छन्।
यसका साथै सशस्त्र प्रहरी बलका दुई बीओपी (बेस अपरेशन पोस्ट) हरुबाट पनि सुरक्षाकर्मीहरू सुरक्षित स्थानमा सारिएका छन्। सुन्दरनगरस्थित बीओपी का २३ जनालाई ओमकार आधारभूत विद्यालयमा र कञ्जभोजस्थित बीओपी का ३० जनालाई सहरी खोप केन्द्र भवनमा सारिएको छ। समयमै उद्धार कार्य गरिएको हुँदा कुनै मानवीय क्षति भने हुन नपाएको प्रहरी नायब उपरीक्षक बोहराले बताए।
हाल जोगबुढा नदीको बहाव घट्दो क्रममा रहेको र अवस्था यथावत रहेमा साँझसम्म विस्थापित परिवारलाई घर फर्काउन सकिने अनुमान गरिएको छ।
महाकाली नदीमा पानीको बहाव अझै उच्च रहेको छ। आज बिहान ७ बजेको मापनअनुसार महाकालीमा पानीको बहाव १ लाख ७१ हजार ९१३ क्यूसेक पुगेको छ। पानीको बहाव १ लाख क्यूसेक नाघेपछि सुरक्षा कारणवश बनवसा–महेंद्रनगर सीमा पुलमा चारपांग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
गएको सोमबार साँझ ५ बजे महाकालीमा यस वर्षकै उच्च बहाव २ लाख ७१० क्यूसेक पुगेको थियो।