२०८३ साउन ११ सोमबार

हिमाल आरोहणबाट ६३ करोडभन्दा बढी राजस्व, जलवायु परिवर्तनले दीर्घकालीन चुनौती थपिँदै

ई आर्थिक    मंगलबार, भाद्र १७ २०८२
1.8K
Shares
हिमाल आरोहणबाट ६३ करोडभन्दा बढी राजस्व, जलवायु परिवर्तनले दीर्घकालीन चुनौती थपिँदै

ई-आर्थिक, काठमाडौं । नेपालका हिमाल तथा पिकहरूको आरोहणबाट आर्थिक वर्ष २०८०/८१ मा ६३ करोड ८२ लाख ९४ हजार ९७९ रुपैयाँ राजस्व संकलन भएको छ। पर्यटन विभागका अनुसार आरोहण प्रयोजनमा देश–विदेशबाट आएका ८६९ जनाले सिजनभर विभिन्न २३ हिमाल तथा पिकको सफल आरोहण गरेका थिए। तीमध्ये ६७८ पुरुष र १९१ महिला थिए।

विश्वको सर्वोच्च सगरमाथा (८८४८.८६ मि.) बाट मात्रै ५५ करोड ४९ लाख ९० हजार २७८ रुपैयाँ राजस्व संकलन भएको छ। यो सिजनमा सगरमाथा आरोहण गर्नेमा ३०२ पुरुष र ७२ महिला थिए।

ताप्लेजुङस्थित कञ्चनजंघा हिमाल (८५५६ मि.) मा २६ पुरुष र १५ महिला गरी ४१ जनाले सफल आरोहण गरेपछि १ करोड ९७ हजार ४६० रुपैयाँ राजस्व प्राप्त भएको थियो। यस्तै, सङ्खुवासभाको मकालु हिमाल (८४८५ मि.) आरोहणबाट १ करोड ६२ लाख ६९ हजार ४८० रुपैयाँ राजस्व संकलन भएको हो।

तर, हिमाल आरोहणबाट उल्लेख्य राजस्व संकलन भइरहे पनि हिमाली क्षेत्र जलवायु परिवर्तनको तीव्र असरमा परेको देखिएको छ। विभिन्न अध्ययन र स्थानीय अनुभवले हिमनदी पग्लने गति बढ्दै गएको, हिमतालहरू बढेको र हिमरेखा वर्षेनी माथि सर्दै गएको देखाएका छन्।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले सन् २०२१ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा हिमरेखा हरेक वर्ष औसत ६.५ मिटरले माथि सर्दै गएको छ। त्यस्तै, सो क्षेत्रमा रहेका हिमतालहरूको संख्या १५ वर्षअघि २७ बाट बढेर अहिले ४९ पुगेको छ।

इसिमोडकै सन् २०२२ को अर्काे अध्ययन ‘हिमालयन वाटर सिक्युरिटी’ मा नेपालमा प्रतिदशक तापक्रम ०.३ देखि ०.५ डिग्री सेल्सियसले बढिरहेको उल्लेख गरिएको छ। यसले हिमनदीहरू तीव्र गतिमा पग्लन थालेका, हिमरेखा माथि सर्ने क्रम तेज भएको, र स्थानीय समुदायको जीवनशैलीमा प्रत्यक्ष असर पारेको देखाएको छ।

विज्ञहरूका अनुसार जलवायु परिवर्तनका चुनौती सामना गर्न तत्काल प्रभावकारी अनुकूलन रणनीति र दीर्घकालीन योजना आवश्यक छ। अन्यथा, पर्यटनबाट हाल आइरहेको राजस्व दीर्घकालीन रूपमा संकटमा पर्न सक्ने खतरा छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij