२०८३ साउन १० आइतबार

महाकालीमा जलस्तर उच्च, कञ्चनपुरका ४५ घर डुबानमा

ई आर्थिक    सोमबार, भाद्र १६ २०८२
1.4K
Shares
महाकालीमा जलस्तर उच्च, कञ्चनपुरका ४५ घर डुबानमा

ई-आर्थिक, कञ्चनपुर । लगातारको वर्षाले महाकाली नदीको जलस्तर खतराको तह नाघेसँगै भारततर्फको शारदा ब्यारेजमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। यता कञ्चनपुरका विभिन्न स्थानमा नदी र खोला बस्तीमा पस्दा ४५ घर डुबानमा परेका छन् र दर्जनौँ परिवार विस्थापित भएका छन्।

दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकाका बस्तीहरूमा आइतबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले जनजीवन प्रभावित बनाएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी सागर बोहराका अनुसार, दोधारा चाँदनी–८ स्थित रामपुरे र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेका छन्।

डुबानमा परेकामध्ये ७० जना स्थानीयवासीलाई नजिकको विद्यालयमा सुरक्षित स्थानमा सारिएको छ। यस्तै, दोधारा चाँदनी–३ पटराखल्लामा १५ घर र भीमदत्त नगरपालिका–११ भुजेलामा ५ घर पानीमा डुबेका छन्। स्थानीय प्रशासन, प्रहरी र स्वयंसेवकको सहयोगमा मानव र चौपायाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ।

भारततर्फ सवारी रोक

महाकाली नदीमा पानीको बहाव १ लाख ४० हजार २५० क्युसेक पुगेपछि भारतीय पक्षले सावधानी स्वरूप शारदा ब्यारेजमा चारपांग्रे र तीनपांग्रे सवारी साधनको आवागमनमा रोक लगाएको हो। नदीमा पानीको सतह १ लाख क्युसेक नाघेपछि भारतीय प्रशासन यस्तो निर्णय लिने गर्दछ।

स्थानीय प्रशासनले बाढीको जोखिम अझै कायम रहेकाले सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरेको छ। उद्धार र राहत कार्य निरन्तर रूपमा चलिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij