२०८३ साउन ११ सोमबार

लगातारको वर्षाले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध, भोटखोला सम्पर्कविहीन

ई आर्थिक    सोमबार, भाद्र १६ २०८२
1.2K
Shares
लगातारको वर्षाले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध, भोटखोला सम्पर्कविहीन

ई-आर्थिक, संखुवासभा ।  लगातारको वर्षाका कारण उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत भोटखोला गाउँपालिका जाने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मकालु गाउँपालिका–३ स्थित सम्माटार नेताभिरमा खसेको ठूलो पहिरोले करिब ५०० मिटर सडक बगाएको उत्तर–दक्षिण सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर नरेश जिरेलले जानकारी दिए।

बाढी र पहिरोले भोटखोला र मकालु गाउँपालिका बीचको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। सदरमुकाम खाँदबारीबाट भोटखोला जाने सवारीसाधन हाल फ्याक्सिन्दासम्म मात्र पुग्न सक्ने अवस्था छ, भने भोटखोला र मकालुका केही वडा सTrafic ट्रान्सपोर्ट सेवाबाट टुटेका छन्।

सडक खुलाउन हाल दुई वटा एक्साभेटर परिचालन गरिएको छ। तर माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको हुनाले तत्काल पहिरो हटाउन सकिने अवस्था नरहेको जिरेलले बताए। “वर्षा रोकिएपछिमात्र वास्तविक काम अगाडि बढ्न सक्नेछ,” उनले भने। पहिरो हटाउन अझै कति दिन लाग्ने भन्ने स्पष्ट अनुमान भने गरिएको छैन।

सडक बन्द भएपछि भोटखोलाबाट खाँदबारी आउन वा फर्किन खोज्ने यात्रुहरू बाटैमा अलपत्र परेका छन्। स्थानीय बासिन्दा, व्यापारी र सर्वसाधारण यातायात अवरुद्ध हुँदा अत्यधिक समस्यामा परेका छन्।

उत्तर–दक्षिण कोशी राजमार्ग सङ्खुवासभाका दुर्गम बस्तीहरूलाई जिल्ला सदरमुकाम र अन्य क्षेत्रसँग जोड्ने महत्वपूर्ण यातायात मार्ग हो। सडक अबरुद्ध भइरहने समस्या बर्षेनी दोहोरिने गरेकाले स्थायी समाधानको माग उठ्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij