ई-आर्थिक, कपिलवस्तु । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट आयात गरिएको युरिया मल दस दिनभित्र किसानको पहुँचमा सहज रूपमा उपलब्ध हुने बताएका छन्।
शनिबार चन्द्रौटामा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले कोलकाताबाट आयात भइरहेको मल अबको सातादेखि दस दिनभित्र नेपाल आइपुग्ने जानकारी दिँदै किसानलाई मलको हाहाकार अन्त्य हुनेमा आश्वस्त पारे।
“अब मलको अभाव हुँदैन,” मन्त्री अधिकारीले भने, “किसानले समयमै युरिया मल पाउनेछन्।”
उनले मल वितरण गर्दा वास्तविक कृषकलाई प्राथमिकता दिनु पर्ने धारणा राखे। “खेतयोग्य जमिन र उत्पादन क्षमताका आधारमा मल वितरण हुनुपर्छ,” उनले जोड दिए, “ठूलो भू-भागमा खेती गर्ने किसानले मल अभावका कारण आर्थिक क्षति बेहोर्न नपरोस् भन्नेमा सरकार संवेदनशील छ।”
कार्यक्रममा नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति तथा महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलामले सरकारी मल वितरण प्रणाली अझ प्रभावकारी बनाउनुपर्ने बताए।
त्यसैगरी, कांग्रेसका जिल्ला उपसभापति उमाकान्त खनालले मल, बीउलगायत कृषि सामग्री वर्षायामअगावै उपलब्ध गराउने योजना बनाइ कार्यान्वयनमा लैजान सुझाव दिए।