ई-आर्थिक, काठमाडौं । विद्यालय पोसाक खरिद प्रकरणमा भएको विशेष अदालतको फैसलासँग असहमति जन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
आयोगले मिथिला बिहारी नगरपालिका–९, धनुषामा विद्यार्थी सिकाइ अभिवृद्धि कार्यक्रम अन्तर्गत पोसाक खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। तर विशेष अदालतले मिति २०८१ मंसिर १७ गते प्रतिवादीहरूलाई सफाइ दिएको थियो।
फैसला विरुद्ध २०८२ भदौ १३ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरिएको आयोगले जनाएको छ।
यस मुद्दामा प्रमुख प्रशासकीय अधिकृत रामदरश यादव, लेखापाल सुभाष कुमार झा, र जिन्सी शाखा प्रमुख उपेन्द्र यादवसमेतलाई प्रतिवादी बनाइएको थियो। उनीहरूमाथि श्री रामजानकी प्रा.वि. र श्री आधारभूत विद्यालयका विद्यार्थीका लागि पोसाक खरिद गर्दा प्रचलित मूल्यभन्दा अस्वाभाविक रूपमा बढी मूल्य तोकी भुक्तानी गरिएको आरोप छ।
आयोगका अनुसार उनीहरूले गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ञ) अनुसारको कसूरमा पर्ने देखिएको थियो। आयोगले रु ५ लाख ३४ हजार ७१० बिगो कायम गरी कैद, जरिवाना र बिगो असुलको माग गर्दै आरोपपत्र दर्ता गरेको थियो।
अब सर्वोच्च अदालतको पुनरावेदन प्रक्रियाबाट अन्तिम न्यायिक निर्णय अपेक्षा गरिएको आयोगले जनाएको छ।