ई-आर्थिक,झापा । कोशी प्रदेशमा पछिल्ला वर्षहरूमा माछापालनको क्षेत्रफल विस्तारसँगै माछाको वार्षिक उत्पादनमा वृद्धि देखिएको छ। तर, उत्पादनको वृद्धि भए पनि आन्तरिक खपत धान्न भने अझै पनि नसकेको देखिएको छ।
पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा कार्प जातको माछा २ हजार ४४२ हेक्टर क्षेत्रफलमा पालिएको थियो। अघिल्लो वर्ष सो क्षेत्रफल २ हजार १६ हेक्टर मात्र थियो। कार्प माछाको उत्पादन पनि ९ हजार ३७७ मेट्रिक टनबाट बढेर ११ हजार ७६ मेट्रिक टन पुगेको छ।
उपभोक्ताले रुचाउने अर्को प्रमुख जात पङ्गासको उत्पादनमा समेत वृद्धि देखिएको छ। आव २०८०/८१ मा २ हजार ३६६ मेट्रिक टन उत्पादन भएको पङ्गासको उत्पादन आव २०८१/८२ मा ३ हजार ३९९ मेट्रिक टन पुगेको हो।
पङ्गास माछापालनका लागि प्रयोग भएको पोखरीको संख्या पनि बढेको निर्देशनालयको तथ्याङ्कले देखाउँछ। अघिल्लो वर्ष ४०५ पोखरीमा पङ्गास पालिएकोमा हाल ४१३ पोखरीमा यसको पालन भइरहेको छ। माछापालन क्षेत्रफल पनि ७८ हेक्टरबाट ११० हेक्टरमा विस्तार भएको छ।
यद्यपि, पहाडको चिसो पानीमा पालिने रेन्बो ट्राउट माछापालन भने घटेको छ। २०८०/८१ मा ४३ वटा पोखरीमा ट्राउट पालिएको थियो भने २०८१/८२ मा त्यो संख्या घटेर २९ मा झरेको छ।
मत्स्य विकास अधिकृत पार्वती लिम्बूका अनुसार कोशी प्रदेशमा प्रतिव्यक्ति वार्षिक माछा उपभोग ११ केजी ५०० ग्राम रहेको छ। तर उत्पादनले उक्त खपत धान्न सकेको छैन। आव २०८०/८१ मा प्रतिव्यक्ति उत्पादन १.८ केजी थियो भने २०८१/८२ मा २.२६ केजी मा मात्र सीमित रहेको उनले जानकारी दिइन्।
प्रदेश सरकारले माछापालनलाई प्रोत्साहन दिँदै आए पनि मागअनुसारको उत्पादन हुन नसक्दा अझै पनि भारतबाट माछा आयातमा निर्भरता रहेको अवस्था छ।
हाल प्रदेशभरिका ५६ वटा सिमसार पोखरीमा माछापालन भइरहेको छ। व्यवसायीहरूका अनुसार नीति र लगानीको दायरा अझ विस्तार गर्न सकेमा प्रदेशलाई माछा उत्पादनमा आत्मनिर्भर बनाउन सकिने सम्भावना कायमै छ।