ई-आर्थिक, काठमाडौं । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने सर्वसम्मत निर्वाचित भएकी छन्। न्यौपानेको एकल उम्मेदवारी संगै निर्विरोध रुपमा सर्वसम्मतमा सभापति चयन भएकी हुन् ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। त्यसपछि उनले आजै मनोनयन दर्ता गरेकी थिइन्।
यसअघि निजामती सेवा विधेयकमा समावेश ‘कुलिङ पिरियड’ सम्बन्धी विवादमा मुछिएपछि तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि पद रिक्त थियो। न्यौपानेको सभापति उम्मेदवारीमा प्रस्तावकमा कांग्रेस सांसद रामहरि खतिवडा र एमाले सांसद कृष्णगोपाल श्रेष्ठले समर्थक राखेर मनोनयन दर्ता गरेकी थिइन् ।
न्यौपाने नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री हुन्। उनले यसअघि संसदीय सुनुवाइ समितिको सभापतिका रूपमा जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। नयाँ जिम्मेवारी लिनुअघि उनले सुनुवाइ समितिको सभापति पदबाट राजीनामा दिएकी थिइन्।
सभापतिमा निर्वाचित भएपछि न्यौपानेले समितिको प्रभावकारिता बढाउने, विधेयकको गुणस्तरीय छलफल सुनिश्चित गर्ने तथा सुशासन प्रवर्द्धनमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।
उनको निर्वाचनलाई महिला नेतृत्वको सशक्त उपस्थिति र संसदीय अभ्यासमा सकारात्मक सन्देशको रूपमा हेरिएको छ।
भोली दिउँसो ३ बजे राज्य व्यवस्था समितिको बैठक बस्दैछ । बैठकबाट उनलाई सभापतिमा सर्वसम्मत भएको घोषणा हुनेछ ।