२०८३ साउन १२ मंगलबार

पाल्पामा अकबरे खुर्सानी खेतीबाट लाखौँ आम्दानी, विदेशबाट फर्किएका युवा बने कृषक

ई आर्थिक    सोमबार, भाद्र ९ २०८२
3.4K
Shares
पाल्पामा अकबरे खुर्सानी खेतीबाट लाखौँ आम्दानी, विदेशबाट फर्किएका युवा बने कृषक

ई-आर्थिक, पाल्पा ।  रिब्दीकोट गाउँपालिका–२ देउरालीकी सावित्रा पौडेलले पाँच रोपनी खेतमा अकबरे खुर्सानी खेती गरेर यो वर्ष पाँच लाख रूपैयाँभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेकी छन्। भदौको पहिलो सातासम्म उनले ६६ हजार रुपैयाँको ३०० केजी खुर्सानी बिक्री गरिसकेकी छन्। सावित्रालाई श्रीमान् सन्दीप पौडेलले साथ दिएका छन्, जो वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै आत्मनिर्भर बन्ने उद्देश्यले कृषिमा लागेका हुन्।

देउरालीकै बाबुराम अधिकारी, सुनिल विक लगायत ९७ किसान अकबरे खेतीमार्फत राम्रो आम्दानी गर्दै आएका छन्। दुई महिनामै करिब ९ लाख ८० हजार रुपैयाँबराबरको ४४ क्विन्टल बढी खुर्सानी बिक्री भइसकेको छ।

कृषकहरूले उत्पादन गरेको खुर्सानी स्थानीय देवीस्थान बहुउद्देश्यीय सहकारी संस्थामार्फत संकलन भई यशोदा फुड कम्पनी लगायतका बजारमा पठाइँदैछ। हाल प्रति केजी २२० रुपैयाँमा बिक्री भइरहेको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको जोन कार्यालयले बीउ, मल, प्लास्टिक टनेल, सिँचाइ, पोखरी निर्माण, मल्चिङजस्ता सामग्री तथा प्राविधिक सहयोग दिँदै आएको छ। यस वर्ष मात्रै जोनमार्फत नौ लाख ९९ हजार रुपैयाँ अनुदान दिइएको छ।

रिब्दीकोट गाउँपालिकाका आठै वडामा १,५०० किसान अकबरे खेतीमा संलग्न छन्। पालिकाभरि २०० रोपनी क्षेत्रफलमा अकबरे खेती हुँदै आएको छ भने वार्षिक ६ देखि १० करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ। कृषकले सिजनमा एक लाखदेखि १० लाख रुपैयाँसम्म कमाइरहेका छन्।

“खुर्सानी खेतीले युवालाई विदेश जानबाट रोक्ने र गाउँमै रोजगारी सृजना गर्ने सम्भावना देखिएको छ,” जोन प्रमुख गणेशप्रसाद यादवले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij