गोरखा : गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा थप प्रोत्साहन दिन भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, गोरखाले नगद अनुदान उपलब्ध गराउने भएको छ। केन्द्रले आर्थिक वर्ष २०८२/८३ का लागि किसानलाई प्रति लिटर ५ रुपैयाँका दरले नगद अनुदान दिने गरी १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
केन्द्रका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. अनन्त कोइरालाका अनुसार, जिल्लालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउन तथा किसानलाई पशुपालनतर्फ आकर्षित गर्न यो कार्यक्रम ल्याइएको हो। उनले भने, “नगद अनुदान कार्यक्रमले किसानलाई थप प्रोत्साहन मिल्नेछ।”
कार्यक्रम कार्यान्वयनका लागि केन्द्रले सहकारी संस्थालाई सूचीकृत गरी, ती सहकारीमार्फत दूध संकलन तथा बिक्रीको व्यवस्था मिलाएको छ। यसले साना किसानलाई पनि घरमै उत्पादन भएको दूध बजारसम्म पुर्याउन सहयोग पुग्ने कोइरालाले जानकारी दिए।
सूचीकृत सहकारीहरूले न्यूनतम २०० लिटर दूध संकलन र बिक्री गर्नुपर्ने व्यवस्था छ। यसै माध्यमबाट किसानलाई अनुदान दिइनेछ। यस वर्ष कुल तीन लाख लिटर दूधमा अनुदान दिन सकिने लक्ष्य केन्द्रले राखेको छ।
गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकामा उल्लेख्य मात्रामा दूध उत्पादन हुने गरेकोले ती क्षेत्रका किसानलाई विशेष लाभ पुग्ने अपेक्षा गरिएको छ। यो कार्यक्रम पशुपक्षी तथा मत्स्य व्यवसाय प्रवर्द्धन कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो।